३३ किलो सुनकाण्डका यी अभियुक्त छुटे

विराटनगर । ३३ किलो सुन र सनम शाक्य हत्याकाण्डका आरोपी निलम्बित एसएसपी दिवेश लोहनीलाई उच्च अदालत विराटनगरले साधारण तारेखमा छोड्न आदेश दिएको छ ।

उच्च न्यायालयका न्यायाधीशद्वय नागेन्द्रलाभ कर्ण र शारङ्गा सुवेदीको संयुक्त इजलासले शुक्रबार निलम्बित एसएसपी लोहनीलाई छाड्न आदेश दिएको हो ।

मोरङ जिल्ला अदालतको आदेश उल्ट्याउँदै उच्च अदालतले निलम्बित एसएसपी लोहनीलार्इ थुनामुक्त गर्ने आदेश दिएको हो ।

निलम्बित एसएसपी लोहनीले असार ७ गते थुनामुक्त हुन पाउँ भन्दै उच्च अदालत विराटनगरमा निवेदन दिएका थिए ।

महानगरीय अपराध अनुसन्धान महाशाखा काठमाडौंका प्रमुख रहेका बेला एसएसपी लोहनीले सनम शाक्यको हत्या प्रकरणमा तानिएका थिए ।

३३ किलो सुन प्रकरण र सनम शाक्यको हत्या प्रकरणको अनुसन्धान गर्न गृह मन्त्रालयका सह–सचिव र्इश्वरराज पौडेलको नेतृत्वमा गठित समितले निलम्बित एसएसपी लोहनीलाई बयानका लागि बोलाएको थियो । वैशाख १९ गते लोहनी पक्राउ परेका थिए ।

निलम्बित एसएसपी लोहनीसहित महाशाखाका डिएसपी प्रजित केसी र सर्इ बालकृष्ण सञ्जेलले सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई बचाउने प्रयास गरेको आरोप छ ।

हराएको साढे ३३ किलो सुन खोजी गर्ने क्रममा गोरे र उनको समूहले सनम शाक्यलगायतलाई कुटपिट गर्नुका साथै करेन्ट लगाएको थियो ।

एसएसपी लोहनीको निर्देशनमा डिएसपी केसी र सई सञ्जेलको टोली काठमाडौंबाट धरान पुगेर गोरेसँग २ करोडको डिल गरेको थियो । गोरे टोलीलाई नभेटी भारत भागेपछि योजना भताभुङ्ग भएको थियो ।

३३ किलो सुन प्रकरण र सनम शाक्य हत्याप्रकरणमा निलम्बित एसएसपी लोहनीसहित पूर्व डीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपीद्वय केसी, सञ्जय राउत, सई सन्जेल, जवान विष्णुबहादुर खड्कासहित ६३ जनालार्इ प्रतिवादी बनाएर जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको थियो ।

Published : Friday, 2018 September 14, 7:17 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया