संविधान दिवसविरुद्ध राजपाले असोज ३ गते प्रदर्शन गर्ने

काठमाडौं, २६ भदौ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले असोज ३ गते विरोध प्रदर्शन र विरोध सभाहरू गर्ने निर्णय गरेको छ ।

काठमाडौंको बबरमहलस्थित पार्टी मुख्यालयमा मंगलबार बसेको अध्यक्षमण्डलको बैठकले संविधान दिवसका दिन विरोध सभा र प्रदर्शन गर्ने निर्णय गरेको हो । राजपाले असोज ३ गते साँझ सात बजे १५ मिनट ब्ल्याक आउट पनि गर्ने निर्णय गरेको छ ।

राजपाका महासचिव केशव झाका अनुसार संविधान संशोधन लगायतका माग यथावत रहेको भन्दै संविधानको स्वागतमा कुनै पनि कार्यक्रम गर्न नसकिने बताए । राजपाले जिल्लाहरूलाई आफू अनुकूल असोज ३ गतेका विरोधका कार्यक्रमहरू तयार पार्न पनि निर्देशन दिएको छ ।

‘संविधान संशोधन गरेर मधेसी, आदिवासी जनजातिहरू, दलित, महिला सबैको अधिकार माग गरिरहेका छौँ’, उनले भने, ‘सरकारलाई समर्थन गर्ने बेला पनि हामीले संविधान संशोधनको कुरा गरेका थियौँ । अहिलेसम्म संशोधन भएको छैन ।’

महासचिव झाले रेशम चौधरीसहितका मधेस आन्दोलनका नेता कार्यकर्ता अहिले थुनामा रहेको भन्दै रिहाइको माग गरे ।

राजपा नेपालले यस पटक असोज ३ गतेले कालो दिवसका रुपमा भने मनाउने छैन । तर, संविधानमा असहमति राखेर प्रदर्शन भने गर्नेछ ।

Published : Tuesday, 2018 September 11, 6:49 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया