दुबो जसरी मौलाउन थाल्यो कांग्रेस, छक्कै परे कम्युनिस्टहरू

काठमाडौं । दुई तिहाई बहुमतको दम्भले अहंकारी बनेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कारण नेपाली कांग्रेसलाई जनताले माया गर्न थालेको टिप्पणी हुन थालेको छ ।

कम्युनिस्ट सरकार र नेकपाका नेताहरूबाट आजित भएका सर्वसाधारणहरू कांग्रेसका नेताहरूको सम्पर्कमा आउन थालेका छन् । कांग्रेसका नेताहरूले पनि अन्यायमा परेका जनताको पक्षमा काम गर्न थालेको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले कम्युनिस्टहरूको अराजकताले उनीहरूलाई नै बेफाइदा भइरहेको बताउँछन् । ‘कुनै बेला कांग्रेसको शीर्ष नेतृत्वले गल्ती गरेकै हो’, उनले भने, ‘हामी सबैले गल्ती स्वीकार गरिसकेका छौँ । चेत पनि पलाएको छ । अब मिलेर जानुको बिकल्प छैन ।’

कांग्रेसले अहिले संगठन सुदृढीकरणदेखि भातृसंस्थाहरूलाई चलायमान गराउँदै लगेको छ । गुटको झगडा आफ्नो गाउँमा राखेर मिल्ने प्रयास भइरहेको छ । अबको लक्ष्य कांग्रेसले स्थानीयस्तरमा जनताको मन कसरी जित्ने भनेर केन्द्रित गरेको छ ।

कांग्रेसका युवा नेता तथा पूर्वसांसद योगेन्द्र चौधरीले पनि कांग्रेसभन्दा पनि नेताहरूलाई फेरि एक पटक व्युझाउनु पर्ने बेला आएको बताउँछन् । ‘कांग्रेस अहिले पनि कमजोर छैन । पहिला पनि कमजोर थिएन’, उनले भने, ‘व्यवस्थापनमा ध्यान नदिएका कारण कम्युनिस्टहरूले निर्वाचनमा फाइदा लिए ।’

गिरी र चौधरीकै जस्तै प्रतिक्रिया दिन्छन् कांग्रेसका पूर्वसांसद राजु खनाल । भन्छन्, ‘केन्द्रमा शीर्ष नेताहरू मिल्न थालेका छन् । त्यसको सकारात्मक सन्देश जिल्ला र गाउँ तहमा पुगेको छ । उत्साह थपिएको छ ।’

सत्तामा रहेको नेकपाले आफूले ‘ध्रुबे हात्ती’भन्दा कम ठानेको छैन । कांग्रेस प्यूठानका युवा नेता ऋषि पुरीले पनि कांग्रेसलाई कम्युनिस्टहरूका कारण फाइदा भइरहेको बताए । उनी भन्छन्, ‘कांग्रेस दुबो हो । पानी प¥यो भने आफै पलाउँछ ।’

गुल्मी कांग्रेसका अर्का युवा नेता कृष्णप्रसाद सापकोटाले पनि कांग्रेसले पछिल्लो समयमा गरेको प्रदर्शन र जनताको पक्षमा उठाएको आवाजले लोकप्रियता पाइरहेको बताउँछन् । ‘कांग्रेसले जनताको पक्षमा आवाज उठाइरहेको छ’, उनले भने, ‘यो काग्रेसीहरूका लागि अवसर पनि हो ।’

कांग्रेसले कम्युनिस्ट सरकारले गरेका गतल कुराहरूको भडाफोर गर्नुका साथै बलात्कृत महिला र बालिकाको पक्षमा जोडदार रुपमा आवाज उठाउँदै आएका छ । कांग्रेसले शान्ति सुरक्षा र मूल्य वृद्धिका पनि विरोध गरिहेको छ । यसले पनि कांग्रेसलाई संगठन सुदृढीकरण गर्न ठूलो मद्दत पुगेको कांग्रेसका शुभेच्छुकहरू बताउँछन् ।

Published : Sunday, 2018 August 26, 12:42 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया