कांग्रेसको बैठक किन स्थगित भयो ? यस्तो रहेछ कारण

काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्था र संगठनका विषयमा छलफल गर्न बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शनिबारसम्मका लागि स्थगित भएको छ ।

तयारी नपुगेको भन्दै नेपाली कांग्रेसको बैठक शनिबारसम्मका लागि स्थगित भएको हो । केन्द्रीय सदस्य गुरु घिमिरेले आन्तरिक तयारी नपुगेकाले बैठक स्थगित भएको जानकारी दिए ।्

‘आन्तरिक छलफल आवश्यक देखियो’, घिमिरलेले भने, ‘केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्नेछ । महासमिति बैठकको तयारी र अन्य विषयहरूमा निर्णय हुनेछ ।’

बैठकका लागि केन्द्रीय सदस्यहरू सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जम्मा भएका थिए । बैठक शनिबारका लागि स्थगित भएपछि निरास भएर घर फर्किएको एक नेताले बताए ।

स्रोतका अनुसार विधान मस्यौदा समिति ९ सदस्यीय बनाउने निर्णय भएकोमा ११ सदस्यीय किन बनाएको भनेर वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहले विरोध जनाएको थियो ।

त्यसैगरी मस्यौदा समितिमा जिल्ला सभापतिहरूलाई पनि राख्ने पूर्वसहमतिलाई सभापति शेरबहादुर देउवाले उल्लंघन गरेको भन्दै आलोचना भएपछि बैठक बस्न नसकेको हो ।

स्रोतका अनुसार विधान मस्यौदा समितिमा तीनजान जिल्ला सभापतिहरूलाई थप गरेर मात्रै केन्द्रीय कार्यसमिति बस्ने सहमति भएको छ ।

शनिबारा बस्ने कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा कम्युनिस्ट सरकारको कामकारबाहीका विषयमा पनि छलफल हुनेछ । सार्थ महेन्द्रनगरमा भएको सरकारको दमनमा पनि कांग्रेसले धारणा दिनेछ ।

Published : Friday, 2018 August 24, 6:37 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया