कांग्रेसद्वारा अधिकार सम्पन्न समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको छ । लामो समयको गृहकार्यपछि समिति गठन भएको हो ।

कांग्रेसद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार खड्का संयोजक रहने गरेर ११ सदस्यीय समिति गठन गरिएको हो । समितिको सदस्यहरूमा केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजाल, फरमुल्लाह मंसुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू श्रीमती महालक्ष्मी उपाध्याय ‘डिना’, आनन्दप्रसाद ढुंगाना, नवीन्द्रराज जोशी, श्रीमती सीता गुरुङ, प्रदीप पौडेल र रमेश लेखक रहेका छन् ।

मुलुकको नयाँ संघीय संरचना अनुसार नेपाली कांग्रेस पार्टीका संगठनात्मक संरचनाहरूलाई पुर्नसंरचना गर्नका लागि विधानमा आवश्यक संशोधन र परिमार्जन गर्न मस्यौदा समिति गठन गरेको विज्ञप्तिमा उल्लेख छ ।

केन्द्रीय कार्यसमितिको ०७५ वैशाख १६ गते सम्पन्न बैठकले नेपाली कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा २२ (५) बमोजिम पार्टी विधान संशोधन मस्यौदा समिति गठन गर्ने निर्णय गरेको थियो ।

सभापति देउवाले कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा २४ (८) बमोजिम अनुसार पार्टी विधान संशोधन मस्यौदा समिति गठन गरेको जनाइएको छ ।

समितिले पार्टी सभापतिसंग परामर्श गरी आफ्नो कार्यविधि आफै तयार गरी लागू गर्नेछ । समितिका संयोजकले आवश्यकतानुसार विभिन्न व्यक्ति तथा संस्थाहरूलाईसमितिमा आमन्त्रण गर्न सक्ने अधिकार पनि दिइएको छ ।

Published : Thursday, 2018 August 23, 4:20 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया