ओलीको कम्युनिस्ट सरकार हरेक हिसावले असफल : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान कम्युनिष्ट प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको हरेक हिसावले असफल भएको आरोप लगाएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी कार्यालय सानेपामा आइतबार पत्रकार सम्मेलन गरेर ओलीको सरकार पूर्णरुपमा असफल भएको बताए । ‘यो सरकारलाई असफल हुने छुट छैन’, शर्माले भने ।

कम्युनिस्ट नेतृत्वको दुई तिहाई बहुमतको सरकारको ६ महिने कार्यकाल पुगेकै दिन कांग्रेसले प्रतिक्रिया दिएका हो । प्रवक्ता शर्माले ओली सरकार जस्ट पास मात्रै भएको बताए ।
शर्माले ओलीको सरकारले लोकतान्त्रिक संस्कृति र चरित्र देखाएर संविधानले परिकल्पना गरेको संरचनालाई संस्थागत गर्न नसकेको आरोप लगाए ।

सरकारले संविधानले परिकल्पना गरेको संघीयता कार्यान्वयनको दिशामा जिम्मेवार ढंगले प्रस्तुत नहुँदा अहिले प्रदेशका मुख्यमन्त्री र मन्त्रीदेखि जनप्रतिनिधिहरूले आसन पाएपनि शासन नपाएको कांग्रेसको भनाइ छ ।

कर्णाली र गण्डकी गरी दुईवटा प्रदेशले मात्रै प्रदेशको स्थायी राजधानी र नामाकरण टुंगोे लगाउन सकेको भन्दै शर्माले बाँकीले केही गर्न नसकेको बताए । शर्मालले सरकार कतै संघीयतालाई कमजोर बनाउँदै त्यसको विरुद्धमा जनमत सिर्जना गरी यसलाई असफल बनाउन त लागेको छैन भन्ने आशंका उब्जिएको उल्लेख गरे ।

कम्युनिस्ट सरकारले सुशासनको सवालमा पनि विफल भएको कांग्रेसले जनाएको छ । सरकारले विश्वविद्यालयका उपकुलपतिलाई विमानस्थलबाट पक्रेर प्रधानमन्त्री निवासलाई प्रहरी हिरासत जस्तो बनाएको र भ्रष्टाचारको विकेन्द्रीकरण गरेको आरोेप पनि उनले लगाए ।

सुन तस्करी प्रकरणमा ठूला माछा पक्रिने अवस्थामा रहेको दाबी गरिएपनि अहिले योे विषय सेलाएको तर्फ लक्षित गर्दै शर्माले अहिले ठूला माछा भनिएकै समेत उम्किने अवस्था सरकारले नै बनाएको दाबी गरे ।

कांग्रेसका प्रवक्ता शर्माले जनतालाई समृद्ध नेपाल र सुखी नेपालीकोे नारा बाँडेर निर्वाचन जितेको सरकारले अहिले जनताको दैनिक जनजीवन नै अस्तव्यस्त हुनेगरी मूल्यवृद्धि हुँदा त्यसको नियन्त्रण गर्न ध्यान नदिएको आरोप लगाएका छन् ।

‘संसदमा मूल्यबृद्धिको विषयमा सांसदहरूले गरेको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले जिम्मेवार ढंगले जवाफ दिने कार्य नगरी आफू सानो छँदा ५० पैसा मानो घ्यू र ९० रुपैैयाँ तोला सुन किनेको भन्ने जस्तो गैरजिम्मेवार जवाफ दिएर पदिय मर्यादा कायम गर्न सक्नु भएन’, उनले भनेका छन् ।

Published : Sunday, 2018 August 19, 6:07 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया