कम्युनिस्टहरूको अड्डामा प्रचण्डलाई कालो झण्डा

रामेछाप । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई रामेछाप जिल्लाको दोरम्बामा नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले कालोझण्डा देखाएका छन् ।

दलबलसहित हेलिकप्टरमार्फत रामेछापको दोरम्बा पुगेका प्रचण्डलाई विप्लवका कार्यकर्ताले बिहीबार कालो झण्डा देखाउनुका साथै विरोधमा चर्का नारावाजी गरेका हुन् । विप्लवका कार्यकर्ताले कार्यक्रम विथोल्न खोजेपछि केही समय कार्यक्रम केही ढिला गरेर शुरु भएको थियो ।

दोरम्बा घटनाको १६औं स्मृति दिवस मनाउने स्थानको विषयमा सत्तारुढ नेकपा र विप्लवका कार्यकर्ताबीच भनाभन भएको थियो । दुई समूहबीच भनाभन भए पनि स्मृति दिवस मनाउने ठाउँलाई सत्तारुढ नेकपाले कब्जामा लिएको थियो ।

त्यसपछि रिसाएका विप्लवका कार्यकर्ताले प्रचण्डलाई कालो झण्डा देखाउनुका साथै नारावाजी गरेका थिए ।

प्रचण्डले जनयुद्धका शहीदका नाममा व्यापार गरेको भन्दै आफूहरूले विरोध गरेको विप्लव निकटको नेकपाका रामेछाप जिल्लाका जनपरिषद् प्रमुख विवेक लामाले जानकारी दिए ।

विप्लव निकटको नेकपाका कार्यकर्ताले शहीदको अपमान गर्न पाइँदैन, राजनीतिक दलाल प्रचण्ड — मुर्दावाद, एकीकृत जनक्रान्ति — जिन्दावाद, वैज्ञानिक समाजवाद — जिन्दावाद, जस्ता नारा लगाउँदै प्रचण्डलाई कालो झण्डा देखाएको लामाले उल्लेख गरेका छन् ।

सत्तारुढ नेकपाले दोरम्बामा रहेको स्मारक पार्क कब्जामा लिएपछि विप्लवको नेकपाले सहिद स्मारक पार्क नजिकै स्मृति दिवस कार्यक्रम मनाएको थियो ।

Published : Friday, 2018 August 17, 11:38 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया