संघीयता सफल बनाउन संविधान संशोधन गरौँः उपेन्द्र यादव

काठमाडौं । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जातीय, भौगोलिक रुपको विविधतालाई विगतदेखि एकात्मक र केन्द्रिकृत सत्ताले सम्बोधन गर्न नसकेका कारण ठूलो हिस्सा पछाडि परेको बताएका छन् ।

राजधानीमा मंगलबार आयोजित ‘नेपालमा संविधान कार्यान्वयन’ विषय अन्तरक्रियालाई सम्बोधन गर्दै मन्त्री यादवले यस्ता खाले विभेदलाई केन्द्रिकृत सत्ताले सम्बोधन गर्न नसकेको दोहोर्‍याए । सोही कारण प्रशासन र राजनीतिक रुपमा वञ्चित भएका व्यक्ति र समुदायलाई संघीयताले समेटेको बताए । महिला र पिछडिएको क्षेत्रलाई संघीयताले समेटेको उनले उल्लेख गरे ।

पहिचान र अधिकारबाट पछाडि परेका यी यावत समस्यालाई सम्बोधन गर्न र सबै समुदायको पहिचान, स्वशासन, सबै धर्म र संस्कृतिहरूलाई सम्बोधन गर्नका लागि आन्दोलन गर्नुपरेको उनले बताए । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री यादवले अहिलेको संविधानलाई अझै राम्रो बनाउन सकिने बताए । त्यसका लागि संविधान संशोधन आवश्यक रहेको उल्लेख गरे ।

उनले भने, ‘बास्तवमा संघीयताको रुपमा हेर्दा मेरुदण्ड कमजोर भएको मानिस झैँ लगेको छ । केन्द्रमा नाडी, खुट्टामा मासी धेरै तर, ढाड ज्यादै कमजोर बन्दा संघीयताको सौन्दर्यताको मेरुदण्ड नै कमजोर हुन्छ ।’ उपप्रधानमन्त्री यादवले उपलब्धीहरूलाई संस्थागत गर्दै अगाडि बढे बाँकी अधिकारका खातिर सुधारहरू आवश्यक रहेको बताए ।

संघीयत बलियो बनाउन वित्तीय पक्ष बडो महत्वपूर्ण रहने उनले बताए । ‘केन्द्र, प्रदेश र स्थानीय तहले आफू–आफूमा कर उठाउने र जनतालाई दुःख दिने हो भने यसले विकृति जन्माउँछ’, मन्त्री यादवले भने, ‘तिनै तहले उठाउने करहरू एक अर्कामा नदोहोरिने गरी करहरू लगाउनु पर्छ । केन्द्रले उठाउने कर प्रदेशले नउठाने । स्थानीय तहले उठाउने कर प्रदेश र केन्द्रले उठाउन हुँदैन ।’

करको विषयलाई लिएर संघीयताको अपब्याख्या गर्न नहुने उनले बताए । ‘संघीयतालाई अगाडि बढाउन संविधान संशोधन गर्नुपर्छ’, उनले भने, ‘जसका लागि हामी सदन र सरकारमा छौँ । संविधान संशोधन गर्दै बाँकी उपलब्धिलाई आन्दोलन गर्दै अगाडि बढाउँदै जानुपर्छ ।’

मुलभूत कर केन्द्र सरकारको अण्डरमा रहेर प्रदेश तथा प्रदेशको अण्डरमा रहेर संघीयतालाई सहयोग पुग्ने गरेर कर उठउनु पर्ने उपप्रधानमन्त्री यादवको भनाइ छ ।

‘आज संघीयतालाई कमजोर पार्ने षड्यन्त्र भइरहेका छन्’, उनले भने, ‘हामी संघीयताको बारेमा सबै जनतालाई यसको सकारात्मक पक्षको सवालमा बताउनुपर्छ । संघीयतामाथि आएका भ्रमहरू हामी सबैले चिर्नुपर्छ ।’ संघीयता देशको अवस्था अनुसार जनताले अंगिकार गरेकाले कसैले कल्पना गर्दैमा संघीयता नजाने बताए ।

Published : Tuesday, 2018 August 14, 3:58 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया