सजिलो छैन कांग्रेसलाई झुक्काउन, आफै फस्यो ओली सरकार

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारले आफ्नो पाँच महिने अवधिमा उल्लेख्य काम गर्न नसकेको गुनासो आइरहेका बेला सोमबार सरकारले रंगीन कलेबरमा ७४ पृष्ठ लामो पुस्तिका सार्वजनिक गरेको छ ।

‘वर्तमान सरकारका ५ महिना’ शीर्षकमा प्रकाशित पुस्तिकामा सरकारले ५ महिनामा गरेका काम र अब गर्ने कामहरुको फेहरिस्त दिइएको हो ।

सरकारले सार्वजनिक गरेको प्रगति विवरणमा कुनै भूमिका लेखिएको छैन । कुनै कामहरू गर्न नसकिएको वा किन हुन सकेन भन्नेबारेमा जनगुनासाहरूमाथि कुनै टिप्पणी नगरी के–के कामह– भए भन्ने विवरणमात्रै प्रस्तुत गरिएको छ ।

नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै कांग्रेसका नेता डा.नारायण खड्काले सरकारले ५ महिनामा गरेको कामको प्रतिवेदनलाई सामान्य भएको टिप्पणी गरेका छन् ।

‘यही तरिकाले काम गर्ने हो भने ओली नेतृत्वको सरकारले ५ वर्षमा पनि धेरै काम गर्न सक्ने छैन’, उनले भने, ‘जनतालाई सपना धेरै बाँड्ने तर, काम भने नगर्ने प्रवृत्ति देखिएको छ ।’

‘मलाई त लागेको थियो, प्रधानमन्त्री केपी ओलीले चन्द्रमामा रकेट पठाएको तस्विर राख्नुहोला, तर बुलेट ट्रेन राख्नुभएछ’, कांग्रेस नेता खड्काले व्यङ्ग्य गर्दै भने ।

सरकारले यातायात क्षेत्रको सिन्डिकेट हटाउने लगायतका केही कामहरु सुरु गरे पनि त्यसको नतिजा नदेखिएको खड्काको आरोप छ ।

प्रतिवेदनमा उल्लेख गरिएका विषयहरू पनि अस्पष्ट रहेको उनले बताए । ‘सुन तस्करको जालो तोडिएको दाबी गरिएको छ । तर ३३ किलो सुन तस्करको अनुसन्धान कहाँ पुग्यो ?’, खड्काले प्रश्न गरे ।

प्रतिवेदनमा सुन्दर तस्विरहरू मात्रै राखेर जनतासँग सरकारले ठगीको व्यापार गरेको नेता खड्काको आरोप छ ।

Published : Tuesday, 2018 August 14, 11:38 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया