‘…त्यो किताव पढेपछि म निरन्तर कांग्रेस छु’

दरवार स्कूलमा पढ्दा पुतलीसडकस्थित त्यतिखेरको नेपाल राजकीय संस्कृत महाविद्यालय अर्थात हालको बाल्मिकी क्याम्पसका विद्यार्थी र मेरो गाउँको दाजु बासुदेव आचार्यले औंला समाएर गौरीशंकर छात्र समितिका कार्यक्रमहरूमा लैजानु हुन्थ्यो । त्यतिखेरका जल्दाबल्दा विद्यार्थी नेताहरू विपिन कोइराला, शिवबहादुर खड्का र लक्ष्मण घिमिरेहरूलाई देखाएर विविध कुरा बताउनु हुन्थ्यो ।

१५ वर्षको उमेरमा मैले मुस्किलले एसएलसी परीक्षा पास गरेको हुँ । त्यसैले गौरीशंकर छात्र समितिका गतिविधिमा मेरो संलग्नता एसएलसी अघिको१३–१४ वर्षको उमेरतिरको भएकोले बासुदार्इ, विपिन कोइराला, शिवबहादुर खड्का र लक्ष्मण घिमिरेहरूको सङ्घर्ष र आस्थालाई बुझ्ने मेरो क्षमता थिएन । तर, मनमा ती चित्रहरू भने छापिएका थिए ।

त्यसपछि आर्इए पढ्न बिक्रम संवत २०२६ मा सरस्वती कलेज गइयो । मेरो दाजुका साथीहरू र गुरू तथा सरस्वती कलेजका प्रिन्सिपल शङ्करराज पाठकका छोराहरू मणिराज पाठक र फणिराज पाठक शायद त्यहीं माथिल्लो कक्षामा पढ्नु हुन्थ्यो । रातिको कलेज र उहाँहरूसँग कहिले कहीं कलेजमा भेट हुँदा अभिभावकलाई नै भेटेको जस्तो अनुभव हुन्थ्यो । कलेजमा विद्यार्थी युनियनको चुनाव आयो । प्रजातन्त्रवादी, प्रगतिशील र राष्ट्रवादी परिचयका तीन समूह देखिए । मलाई मणि र फणि दार्इको प्रभाव र राष्ट्रवादी समूहको नाराले सो समूह निकट लग्यो ।

कक्षामा मेरा मिल्ने साथीहरूमध्ये थिए नुवाकोट थानसिङतिरका चन्द्रप्रसाद भण्डारी र रामप्रसाद भण्डारी । कलेज नजिकै ठमेलमा उनीहरूको डेरा थियो । कक्षा खाली हुँदा उनीहरूसँगै म पनि उनीहरूको डेरामा जाने गर्थें । त्यही घरमा माथिल्लो तलामा मच्छिन्द्र पाठकको डेरा थियो ।

मच्छिन्द्र पाठक त्यतिखेरका चर्चित विद्यार्थी नेता थिए । सम्भवत विपिन, शिवबहादुर र लक्ष्मण घिमिरेहरूकै समकक्षी थिए । म भण्डारीहरूको डेरामा पुग्दा उहाँलाई यदा कदा भर्याङ्ग चढिरहेको वा झरिरहेको देख्थे । पाठक पनि सरस्वती कलेजमा नै बीएको विद्यार्थी हुनुहुन्थ्यो । अत्यन्त प्रभावशाली व्यक्तित्व लाग्दथ्यो उहाँको ।

एक दिन मच्छिन्द्र पाठकले एउटा पुस्तिका दिनु भयो । त्यो भरत शम्शेरले लेख्नु भएको थियो । त्यही पुस्तिका पढेर म प्रजातन्त्रवादी बन्न पुगें । बासुदाइ, गौरीशंकर छात्र समिति, विपिन कोइराला, शिवबहादुर र लक्ष्मण घिमिरेहरू सबै मिलेर मनमा जुन अस्पष्ट चित्र कोरिएको थियो । त्यो चित्रलाई प्रष्ट आकार र रङ्ग भर्ने काम मच्छिन्द्र पाठक र भारत शम्शेरबाट कसरी कसरी भयो ।

पाठकको प्रभावमा आएपछिका केही महिनाहरू अत्यन्त चुनौतीपूर्ण र सङ्घर्षपूर्ण रहे । तर, आर्इएको पढाई सक्दा नसक्दै म सिन्धुलीको आफ्नो गाउँ बोहोरेटार तानिएँ । पछि त्यहींको स्कूलमा शिक्षक हुँदै आफ्नो अध्ययन जारी राख्दै र शिक्षक आन्दोलनमा जोडिन आइपुगेको हुँ ।

सरस्वती कलेज छोडेपछि पाठकसँग मेरो भेट भएन । तर, हाम्रै दुम्जाको जया दिदीसँग उहाँको विवाह भएकोले उहाँ परिवारको सदस्य पनि लाग्नुहुन्थ्यो । म सिन्धुलीमै हुँदा घरको छतबाट लडेर मच्छिन्द्र पाठकको निधन भएको सुने । कठोर पीडावोध सहित मैले उहाँलाई अश्रुपूर्ण श्रद्धाञ्जालि चढाएँ ।

भरत शम्शेर राणाको निधन भएछ । अल्पायुमै निधन भएका होनहार युवा नेता र पूर्ण आयु प्राप्त गरेर निधन हुनुभएका भरत शम्शेर एकै साथ मेरो स्मृतिमा आउनु भयो । भरत शम्शेरसँग मेरो भेट कहिल्यै भएन । तर, मच्छिन्द पाठकले दिनुभएको भरत शम्शेरको त्यही पुस्तिकाले मलाई प्रजातान्त्रिक आस्थामा बाँध्यो । वीपी, गणेशमानजी, किसुनजी र गिरिजाबाबु निकट लग्यो । कांग्रेस बनायो र पछिल्लो चुनावसम्म पनि मैले कांग्रेसलाई नै भोट हाल्ने बनाइदियो ।

कांग्रेसको विधानले मलाई कांग्रेस मान्दैन । कांग्रेस पार्टीले पनि मलाई कांग्रेस मान्दैन । स्वाभाविक पनि होला किन कि विधान अनुसार म कांग्रेसको सदस्य पनि होइन । विधान अघि राखेर कांग्रेस बनेको पनि होइन । कांग्रेसको एउटा अलिखित विधान पनि छ । बेलायतको संविधान अलिखित भने जस्तै । कांग्रेसको त्यही अलिखित विधान अनुसार (कुनै निस्सा र प्रमाण आवश्यक नहुने) सदस्य बनेको म ।

कांग्रेसबाट लाभ लिन पो रसिद काट्नु पर्ला ! नलिन र सकेको दिन त कुनै लिखित विधान अनुसारको रसिद त चाहिन्न नी ?

नढाँटीभन्दा वर्तमान समयमा आएर कांग्रेसप्रति खासै लगाव भएर भोट हाल्ने गरेको पनि होइन । प्रजातन्त्रमा विश्वास राख्ने इमान्दार मानिसहरूको ठूलो पङ्क्ति त्यहाँ छ । त्यसैले प्रजातन्त्र र उहाँहरूको सम्मानको लागि मात्र भोट हालेको हो कांग्रेसलाई ।

तर, मच्छिन्द्र पाठक र भरत शम्शेर मेरा राजनीतिक चेतनाका शुरूका दिनका गुरू हुन् । उहाँहरू हुँदै नै म वीपीको अनुयायी बन्न पुगेको हुँ । भरत शम्शेर राणाको सन्दर्भसँगै मेरो मनमा मच्छिन्द्र पाठक आइहाल्नुहुन्छ । त्यसैले दुबैमा एक साथ श्रद्धाञ्जालि ।

Published : Monday, 2018 August 13, 10:14 am

2 प्रतिकृया प्राप्त “‘…त्यो किताव पढेपछि म निरन्तर कांग्रेस छु’”

  • सत्य कुरा कुरा काे सटिक प्रस्तुति। मन पर्याे।असल काग्रेस वन्न वनाउन विधान चाहिदैन। विधान पद प्राप्तिहरुका लागि हाे।सहमत छु।

  • वहॉको र मेरे जीवनी करिब करिब उस्तै छ।इमान्दारिताका धनि मेरा मित्र केशव भट्टराईज्यूको सत्य कुराको सटिक प्रस्तुती प्रती म सहमत।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया