कम्युनिस्टविरुद्ध एक हुने कांग्रेस नेताहरू किन मिल्न सक्दैनन् ?

काठमाडौं । नेपाली कांग्रेस सरकारविरुद्धको गतिविधिमा एकजुट देखिए पनि पार्टीभित्रको आन्तरिक विवादमा भने आ-आफ्नो गुट बलियो बनाउन सक्रिय भएका छन् ।

भदौभित्रै महासमिति बैठक राख्ने निर्णय गरेको कांग्रेसले आन्तरिक विवादका कारण अलमलमा परेको बताइन्छ । महासमिति बैठक तिहारपछि गर्ने कांग्रेसका शीर्ष नेताहरूबीच अनौपचारिक सहमति भएको स्रोतको भनाइ छ ।

निर्वाचनमा पराजय भोगेपछि हारको जिम्मेवारी लिने विषयमा कांग्रेसका शीर्ष नेताहरू अलमलमा थिए । सभापति शेरबहादुर देउवालाई हारको जिम्मेवारी लिन वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूह सक्रिय भएका थिए । तर, देउवाले कुटनीतिक सहमतिमार्फत पार्टीभित्रको विवाद अन्त्य गरिदिउका थिए ।

महासमिति बैठकमार्फत पार्टीको विधान संशोधन गर्ने कांग्रेस तयारी छ । विधान संशोधन गर्न बनाइने मस्यौदा समिति गठनका विषयमा नै नेताहरूबीच सहमति जुटेको छैन ।

समिति नबन्दासम्म महासमितिको औचित्य नहुने नेताहरूले नै बताउँदै आएका छन् । विधान समितिले नै पार्टीको नयाँ संरचनाअनुसारको विधानलाई ड्राफ्ट गर्ने काम गर्छ । समितिले बनाएको विधानलाई महासमितिमार्फत पारित गर्नुपर्छ ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले भदौभित्र महासमिति बैठक असम्भव रहेको आफू निकटका नेताहरूलाई बताउने गरेका छन् । मिति तोकिएको भए पनि व्यावहारिक रूपमा अब भदौभित्र महासमिति हुने सम्भावना टरेको उनले बताए । विरोधी समूहले निधिलाई महासमिति बैठक सार्न षड्यन्त्र गरेको भनेर आरोप लगाएको छ ।

विधान मस्यौदा समितिका विषयमा पटक–पटक वरिष्ठ नेता पौडेलसहित नेता सिटौला र अन्य शीर्ष नेताबीचमा अनौपचारिक संवादसमेत भइसकेको छ । नेताहरूका बीच सहमति जुटेको छैन । समिति ९ वा ११ सदस्यीय हुने भन्नेमा भने नेताहरूबीच सहमति छ ।

११ सदस्यीय समति हुँदा संस्थापनले ५ र पौडेल सिटौलाले ५ सदस्य बाँड्ने, संयोजक संस्थापनले लिने अथवा ९ सदस्यीय भए पनि संयोजक संस्थापनले नै राखेर ४–४ सदस्य भाग लगाउने नेताहरूबीच सहमति भएको छ ।

वरिष्ठ नेता पौडेलभन्दा पनि सिटौला कांग्रेसभित्र गुम्दै गएको पकडलाई स्थापित गर्न सकिन्छ कि भनेर सक्रिय रहेका छन् । कांग्रेसका एक नेताका अनुसार सिटौला पार्टीभित्र अत्यन्तै कमजोर छन् । सिटौलाले पौडेल समूहलाई प्रयोग गरेर बेलाबेला आफ्नो स्वार्थपूर्ति गर्ने गरेको आरोप छ ।

सिटौला समूहका सीमित केन्द्रीय सदस्यहरू पनि गुट छाड्ने तयारीमा रहेका छन् । स्रोतका अनुसार सिटौला समूहका भीमसेनदास प्रधान, गगन थापा र प्रदीप पौडेल आफ्नै गुटभित्र खुसी छैनन् ।

सभापति देउवा उपचारका लागि बैंकक गएको मौका छोपेर निधिले आफू निकटका नेताहरूको भेला गर्दै आएको आरोप छ ।

निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएर देउवा बैंकक गएका हुन् । देउवा नभएको मौका छापेर निधिले गर्दै आएका गतिविधिले कांग्रेसभित्र बन्दै गएको सहमतिलाई असर परेको चर्चा हुन थालको छ ।

Published : Sunday, 2018 August 12, 11:10 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया