गगनले गरे कम्युनिस्टहरूको सातो लिने काम, कांग्रेसको शिर भयो उच्च

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगन थापाले राजधानीका मुख्य–मुख्य बाटो निर्माण अलपत्र पार्ने ठेकेदार कम्पनीलाई कारबाही गरिएको प्रगति दिन सडक विभागमा निवेदन दिएका छन् ।

कांग्रेसका युवा नेता थापाले साउन २२ गते चिठी लेखेर क्षेत्र नं. ४ का निर्माणाधीन सडक निर्माण सम्झौता गर्ने कम्पनीहरूलाई कारबाहीको प्रगति मागेका हुन् ।

सांसद थापाले ठेकेदार कम्पनीहरूलाई कारबाही माग्दै सडक विभाग पुल्चोकमा निवेदन दिएका थिए । दुई सातापछि थापाले कारबाहीको प्रगति माग्दै फेरि चिठी लेखेका छन् । थापाको चिठीले ठग ठेकेदारहरूको मनमा चिसो पसेको छ ।

कांग्रेसका सांसद एवम् युवा नेता थापाले नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी ठेकेदारलगायत चार निर्माण कम्पनीलाई कारबाही माग गर्दै साउन ९ गते विभागमा निवेदन दिएका छन् ।

थापाले तारन्तार निवेदन दर्ता गर्न थालेपछि विभागले ठेकेदार कम्पनी खोज्न थालेको छ । सडक विभागका महानिर्देशक रविन्द्र श्रेष्ठले काम नगर्ने कम्पनीलाई तुरुन्त काम लगाइने भनेका छन् ।

सम्झौता गुजारे पनि नवीकरण हुँदै आएका कम्पनीहरूमध्येको एउटा प्रचण्डका घरबेटी ठेकेदार शारदा अधिकारीको शैलुङ कन्स्ट्रक्सन प्रा.लि. पनि हो । अधिकारीको ललितपुर खुमलटारस्थित घर एमाले–माओवादी एकीकरण प्रयासको मुकाम थियो । पछि प्रचण्ड ठेकेदार अधिकारीकै घरमा बसाइँ सरेका थिए ।

अधिकारीको कम्पनीले ठेक्का लिएको काठमाडौं क्षेत्र नम्बर ४ को सुन्दरबस्ती, आदर्शनगर, चुनिखेल, टुपेक, टुसाल, जग्दोले राष्ट्रिय सहिद पार्क बाटोको म्याद २०७४ साउन २० गते नै सकिएको छ ।

आकाशेधारा, बालुवाखानी, साततले सडक, राम मन्दिर, कृष्ण मन्दिर सडकको म्याद २०७४ असोज ३० गते सकिएको छ ।

राप्रपा (प्रजातान्त्रिक)का नेता विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सन प्रा.लि र कांग्रेस निकट ठेकेदार कम्पनी सापले बुढानीलकन्ठ पूर्व तैलुङ स्कुल, देउवाचोक सडकको म्याद २०७४ असोज ३० गते नै सकिएको छ ।

नेपाली कांग्रेसनिकट ठेकेदार कम्पनी तुदी र प्रेराले सम्झौता गरेको चुनिखेल, चपली, बुढानीलकन्ठ सडकको म्याद २०७५ जेठ २ गते सकिएको छ ।

दुबै कम्पनीले ठेक्का लिएको अर्को महाकाल भृकुटी चोक, तेन्दिङ चोक फैका सडकको म्याद पनि जेठ २ गते नै सकिएको छ ।

ठेकेदार कम्पनीलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिने गृहमन्त्री रामबहादुर थापा प्रचण्डको धम्कीपछि सेलाएका छन् । आफ्नै अध्यक्ष रिसाएपछि गृहमन्त्री थापाको ठेकेदार थुन्ने अभियान रोकिएको छ ।

Published : Friday, 2018 August 10, 7:09 pm

1 प्रतिकृया प्राप्त “गगनले गरे कम्युनिस्टहरूको सातो लिने काम, कांग्रेसको शिर भयो उच्च”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया