खराब व्यापारीको संरक्षण गर्दै ओलीका मन्त्री

काठमाडौं । पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएका अवैध विज्ञापनका बोर्ड हटाउन पटक–पटक निर्देशन दिँदा समेत अझै हटाइएको छैन ।

मन्त्री अधिकारीले सस्तो प्रचारका लागि पटक–पटक विमानस्थलको स्थलगत निरीक्षण गरी निर्देशन दिएका थिए । मन्त्री अधिकारीले दिएको निर्देशनमध्ये अल्कोहलका विज्ञापनमात्र हटाइएको छ ।

आगमन कक्ष र बाहिर रहेका नेपाल एभरेष्ट बैंक, ओप्पो मोवाइलजस्ता कम्पनीहरुको विज्ञापनको बोर्ड भने हटाइएको छैन ।

व्यापारी सुवास श्रेष्ठले एयरलाइन्स विभाग प्रमुख तथा विमानस्थलका प्रवत्ता रहेका प्रेमनाथ ठाकुरसँगको मिलेमतोमा ती बोर्डहरू अझैसम्म नहटाएको विमानस्थल स्रोतले जनाएको छ ।

विमानस्थलभित्र श्रेष्ठले सञ्चालन गरेको कान्तिपुर क्याफेलाई समेत हटाउन कर्पोरेट महाशाखाले पत्र काटेको थियो । यो क्याफे पनि नहटाई अदालतको स्टेअर्डरको भरमा चलाइएको छ ।

यसअघि कर्पोरेट महाशाखाले २०७४ असार १९ गते पत्र काटेको थियो । पत्रमा ‘त्रि.अ. विमानस्थलको आगमनतर्फ हुँदै बाहिर निस्कने नयाँ बाटो निर्माण गरिने भएकाले उक्त स्थानमा रहेको त्यस प्रालिले राखेको विज्ञापन बोर्डहरू निर्माण कार्यको शिलशिलामा झिक्नु पर्ने भएकाले हाललाई उक्त स्थानमा रहेको बोर्डहरू सिभिल इन्जिनियरिङ महाशाखसँग समन्वय गरी तत्काल हटाउने व्यवस्था हुन निर्देशानुसार अनुरोध छ’, भन्ने उल्लेख गरिएको थियो ।

श्रेष्ठले न मन्त्रीको निर्देशन टेरेका छन्, न त कर्पोरेट महाशाखले नै कारबाही गर्ने आँट गरेको छ । विमानस्थलमा हुने अवैध डलरदेखि हुण्डीसम्मको कारोबारमा श्रेष्ठ मुछिदै आएका छन् ।

Published : Thursday, 2018 August 9, 9:33 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया