जयबहादुर चन्दले कांग्रेस छाडे ! कम्युनिस्टहरूको भजन गाउँदै

काठमाडौं । आफूलाई नेपाली कांग्रेसको शुभेच्छुक बताउने नेपाल प्रहरीका निवर्तमान अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजीपी) जयबहादुर चन्द पूर्वएमाले निकटका व्यक्तिले सञ्चालन गर्दै आएको सौर्य दैनिक पत्रिकामा लगानी गर्न पुगेका छन् ।

कुनै बेला सोही पत्रिकाले चन्दविरुद्ध समाचार लेख्ने गरेको थियो । प्रहरी महानिरीक्षक बन्ने दौडामा कांग्रेसका नेता एवम् पूर्वमन्त्री रमेश लेखकको फेरो समातेर सभापति शेरबहादुर देउवासम्म पुगेका चन्दले अहिले पूर्वएमालेप्रति किन यति धेरै मोह देखाए भनेर चर्चाको विषय बनेको छ ।

स्रोतका अनुसार पूर्वएआईजीपी चन्दले सौर्य दैनिकमा पाँच करोड लगानी गरेका छन् । लगनी गरेकै कारण काभ्रे जिल्लाका पूर्वसचिव समेत रहेका सौर्य दैनिकका प्रधान सम्पादक बोधराज त्रिपाठीले चन्दलाई प्रबन्ध निर्देशकको जिम्मेवारी दिएका हुन् । त्रिपाठीलाई जाने बुझेकाहरूले चन्द धेरै दिन सौर्य दैनिकमा टिक्ने छैनन् भनेर टिप्पणी गर्न थालिसकेका छन् ।

प्रधान सम्पादक त्रिपाठीले यसअघि सौर्य सञ्चार सहकारी मार्फत सौर्य दैनिक चलाएका थिए । त्यो सहकारीमा एमालेका नेता तथा कार्यकर्ताको सेयर थियो । सहकारीलाई त्रिपाठीले डुबाएपछि सिर्जना इन्टरनेश्नल प्रा.लिमार्फत पत्रिका प्रकाशित गर्दै आएका छन् । झण्ड दुई दर्जन बढी लगानीकर्ता र अध्यक्ष फेरि सकेको सौर्य दैनिकले फेरि चन्दलाई मालिकका रुपमा पाएको छ । हाल सौर्य दैनिकको अध्यक्ष पदम शाह रहेका छन् ।

स्रोतका अनुसार सौर्य दैनिकमा नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रमेश लेखकले पनि लगानी गरेका छन् । लेखक र चन्द दुबै मिलेर त्रिपाठीसँग सहकार्य गरेको चर्चा कांग्रेसी नेताहरूले गर्न थालेका छन् ।

प्रतिनिधि सभाको निर्वाचनका बेला नेता लेखक र चन्दले सौर्य दैनिकलाई कांग्रेसको समाचार लेख्ने गरेर लगानी गर्न प्रस्ताव गरेका थिए । तर, सौर्य दैनिकलाई एमालेको मुखपत्र भनेर विरोध भएपछि लेखक र चन्दको योजना त्यही बेला भताभुङ्ग भएको थियो ।

बागबजार, हाँडीगाउँ हुँदै महाराजगञ्जस्थित पानीपोखरीमा कार्यालय राखेको सौर्य दैनिकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीको मुखपत्र भएर समाचार लेख्दै आएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवासहित कांग्रेसका नेताहरूको यो पत्रिकाले चरित्र हत्या गर्दै आएको छ ।

श्रमजीवी पत्रकारहरूलाई तलव नदिएका कारण श्रम अदालत र श्रम कार्यालय बागमतीबाट कारबाहीको भोगिदार बनिसकेको सौर्य दैनिकमा प्रहरीका पूर्वएआईजीपी चन्दले लेखाएको मोहले धेरैको ध्यान आफूतिर तानेको छ ।

केही दिन अगाडि सौर्य दैनिक बोकेर चन्द कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठस्थित निवासमा पुगेका थिए । चन्दले नेता लेखकले पठाएको भनेर ‘यो हाम्रो पत्रिका हो’ भनेर सौर्य दैनिक देउवालाई थमाएको प्रत्यक्षदर्शी एकजना कांग्रेस नेताले बताए ।

तत्कालीन एसपी नवराज सिलवालको मिटर व्याज र गुणबहादुर थापासँगको अवैध लगानीका विषयमा यही सौर्य दैनिकले समाचार छापेको थियो । समाचार छापिएपछि सिलवाल ‘म आईजीपी बन्ने लाइनको मान्छेको समाचार नछापिदिनुस्’ भनेर दलवलसहित सौर्य दैनिकको बागबजार कार्यालयमा आएर धम्काएका थिए । त्यही पत्रिकाको कटिङ देखाएर चन्दले सिलवालको पटक पटक बद्नाम गर्नुका साथै सिलवालवाई आईजीपी बन्न नदिने हतियारका रुपमा प्रयोग गरेका थिए ।

संयोग मन्नुपर्छ आईजीपी बन्न नसकेपछि एमालेबाट टिकट पाएर सिलवाल एमाले (अहिले नेकपा)को सांसद बन्न सफल भए । चन्द एमाले निकटको पत्रिकामा लगानी गर्न पुगेका छन् ।

Published : Monday, 2018 August 6, 1:11 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया