यी हुन् कांग्रेसको सान बढाउने मेयर, हलेसीमा भिड्दै छन् पूर्वएमालेसँग
काठमाडौं । खोटाङमा रहेको ‘पूर्वको पशुपतिनाथ मन्दिर’ अर्थात हलेसी मन्दिरको सुधार र पारदर्शितामा हलेसी तुवाचुङ नगरपालिकाले काम अगाडि बढाएपछि पूर्व एमालेका साथै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तथा हलेसी मन्दिर विकास समितिको टाउको दुःखाई भएको छ ।
नगरपालिकाले मन्दिरको भेटी र मन्दिरको सुधारका कार्यक्रम अगाडि बढाएको छ । नगरपालिकाले हलेसी मन्दिरको वृहत्तर गुरुयोजना बनाउन शुरु गरेको छ । त्यसका लागि आवश्यक पर्ने झण्डै एक हजार रोपनी जमिन अधिग्रहण गर्नुपर्नेछ ।
नगरपालिकाका मेयर इवान राईले मन्दिरको भेटीलाई व्यवस्थापन गर्न सीसी क्यामरका साथै मेटल डिटेक्टर गेट लगाइदिएका छन् ।
मन्दिरको भेटीबाट हलेसी मन्दिर र नगरपालिका भित्रको विकास गरिने अध्यक्ष राईले जानकारी दिए । मन्दिरको खर्च विवरण अहिलेसम्म सार्वजनिक भएको छैन । अबका दिनमा प्रत्येक महिना मन्दिरको आम्दानी र खर्च पनि सार्वजनिक गर्ने निर्णय मेयर राईले गरिसकेका छन् ।
हलेसीको भेटीको अनुगमन गर्न नगरपालिकाले तीनजना कर्मचारी पनि खटाएको छ । ती कर्मचारीहरूले पूजारी र विकास समितिका कर्मचारीले भेटी हिनामिना नगरुन् भनेर निगरानी गर्ने गरेका छन् । यो नगरपालिकामा नेपाली कांग्रेसको बहुमत छ । मेयर राई कांग्रेस निकटका हुन् ।
नगरपालिकाले भेटीमा कडाइ गरेर सुधारका कार्यक्रम अगाडि बढाएपछि भेटीमा हालीमुहाली गर्दै आएको एउटा समूह आत्तिएको छ । आत्तिएको समूहले बखेडा झिकेर हलेसी मन्दिरमा स्थानीयको हक नहोस् भनेर अभियान चलाएपछि मेयर राईले जोडदार विरोध गरेका छन् ।
हलेसी मन्दिरमा मासिक ४ देखि ५ लाखसम्म भेटी संकलन हुन्छ । स्थानीयले मन्दिरमा त्योभन्दा पनि धेरै भेटी संकलन हुने गरेको दाबी गर्छन् । सरकारले समितिको सदस्य सचिवमा सम्बर भुजेललाई नियुक्ति गरेको छ । समितिको अध्यक्ष पद भने खाली छ ।
उता, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद विशाल भट्टराईसहितको एउटा समूहले हलेसी मन्दिरलाई केन्द्रीय सरकारको मातहतमा राख्न माग गर्दै पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
उनीहरूले हलेसी मन्दिरलाई स्थानीय तहको मातहत राख्न नहुने माग राखेका हुन् । सांसद भट्टराईलाई नेकपाका प्रदेश सांसदद्वय रामकुमार राई र राजन राईले पनि साथ दिएका छन् ।
मेयर राईले हलेसी मन्दिरलाई स्थानीय नगरपालिकालाई नै दिन माग गरेर प्रधानमन्त्री केपी ओली र पर्यटनमन्त्री अधिकारीसँग पनि भेट्ने तयारी गरेका छन् । ‘प्रधानमन्त्रीज्यूलाई भेट्न प्रयास गरेको छु’, मयर राईले भने, ‘प्रधानमन्त्री र पर्यटनमन्त्री लाई भेटेर सबै कुरा राख्छु ।’
‘नेकपा’का नेताहरूले हलेसीलाई केन्द्रीय सरकार मातहत राख्न माग गरेपछि हलेसी नगरपालिकाले कडा विरोध गरेको छ । मेयर राईले स्थानीय जनताको भावना विपरित नेकपाका सांसद र नेताहरूले हलेसी मन्दिरका विषयमा गतिविधि गरेको भन्दै अपात्ति जनाए ।
‘संघीयता र स्थानीय तहको भावना विपरित नेकपाले हलेसी मन्दिर केन्द्र सरकारलाई दिन खोजेका छन्’, उनले भने, ‘यो कार्यमा हाम्रो विरोध छ । हलेसी मन्दिरलाई स्थानीय सरकारले जिम्मेवारी लिन्छ । विकास र सुधार गर्छ ।’
मेयर राईले हलेसी मन्दिरमा रहेको खानेपानीको समस्या समाधान गर्न डिपबोरिङ राखेर पिउने पानीको व्यवस्था गरेका छन् ।
सफरसफाईका लागि एउटा गाडी पनि मन्दिरमा राखिएको छ । त्यति मात्रै होइन मेयर राईले हलेसी मन्दिरको खर्च विवरण प्रत्येक महिना नागरिक वडापत्रमा देखिने गरेर राखिने जानकारी दिए । मेयर राईको यो कार्य केही नेता र व्यक्तिलाई चित्त बुझेको छैन ।
halesi nagarpalikako purna swamitwama hunuparchha
Eban sir.kuro sahi nai ho.
हलेसी मन्दिरको पहिले भन्दा धेरै बिकास भएको देखेको छौ। अझ पर्यटन बढाउन हामीले अझै पनि धेरै कुरामा ध्यानाकर्षण दिन जरुरी देखेको छु।जुन अहिले ल्याउनु भएको योजना छ मलाई पनि मन पर्यो। मेरो पनि समर्थन छ।