बुटवलमा कांग्रेसको विद्रोह, ओलीको मनमा चिसो पस्यो

बुटवल । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेश सांसदहरूले कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीको राजीनामा माग गरेका छन् ।

प्रदेश ५ को आइतबार बसेको प्रदेशसभा बैठकमा बिशेष समय लिएर बोल्दै कांग्रेस सांसदद्वय भुवनेश्वर चौधरी र पुष्पा थरुनीले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका हुन् ।

प्रधानमन्त्री अध्यक्ष रहेको संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेको व्यक्ति प्रधानन्यायाधीशमा अयोग्य भएपछि अयोग्य व्यक्तिलाई प्रधानन्यायाधीसमा सिफारिस गर्ने प्रधानमन्त्रीमाथि पनि नैतिक प्रश्न उठ्ने उनीहरूले आरोप लगाए ।

प्रदेश सांसदद्वय भुवनेश्वर र पुष्पाले नैतिकताको आधारमा प्रधानमन्त्री ओलीले प्रधानन्यायाधीश प्रकरणमा राजीनामा दिनुपर्ने बताए ।

दुई तिहाईको दम्भकै कारण संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस भएका कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदन नगरिएको कांग्रेसको आरोप छ ।

कांग्रेस सांसदहरूले प्रधानन्यायाधीश प्रकरणले सरकार अधिनायकवादतर्फ अगाडि बढेको संकेत गरेको आरोप लगाए ।

प्रदेश सांसद भुवनेश्वर चौधरीले कम्युनिस्ट सरकारले मुक्त कमैयाहरूको घर निर्माणका लागि काठ किन्न एक वर्ष अगाडि उपलब्ध गराएको एक करोड ७० लाख रुपयाँ हालसम्म पनि जिल्ला वन कार्यालयको खातामा रहेको बताए ।

मुक्त कमैयाहरूले घर बनाउन काठ नपाएको भन्दै उनले सो रकमको व्याजसहित मुक्त कमैयालाई उपलब्ध गराउन माग गरे ।

Published : Sunday, 2018 August 5, 5:38 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया