शोकमा डुब्यो कांग्रेस, जिल्ला सभापति गुमायो

काठमाडौं । नेपाली कांग्रेस स्याङ्जाका सभापति एवम् पूर्वसभासद कमल पंगेनीको निधनप्रति प्रतिनिधि सभाले शोक प्रस्ताव पारित गरेको छ ।

संसदको आइतबार बसेको बैठकले पंगेनीको निधनप्रति एक मिनट शोक प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो । पंगेनीको गएराति गृहजिल्ला स्याङ्जामा हृदयघातका कारण निधन भएको थियो ।

प्रतिनिधि सभाको अर्को बैठक सोमबार २ बजेसम्मका लागि स्थगित भएको छ ।

पंगेनीको गएराति हृदयघात भएपछि कालिका सामुदायिक अस्पताल, भीरकोट वडा नं. १, हेलुमा उपचारार्थ लगिएकोमा मृत घोषणा गरिएको थियो । उनी ५५ वर्षका थिए ।

पंगेनी संविधानसभा निर्वाचन २०७० मा स्याङ्जा क्षेत्र नम्बर २ बाट विजयी भएका थिए । उनले तत्कालीन एमालेका कृष्ण खाँणलाई हराएका थिए ।

पंगेनी २०६४ सालको संविधानसभामा हितकाजी गुरुङसँग पराजित भएका थिए । त्यस्तै प्रदेशसभा निर्वाचन २०७४ मा स्याङ्जा क्षेत्र ‘क’मा दीपक चर्ती मगरसँग पनि पराजित भएका थिए ।

नेपाली कांग्रेस जिल्लाको पार्टी सभापतिमा पंगेनीको यो तेस्रो कार्यकाल थियो । भीरकोट वडा नं. ६ का स्थायी बासिन्दा पंगेनीका श्रीमती, १ छोरा र १ छोरी छन् ।

शोक विज्ञप्ति

श्रावण २०, २०७५

नेपाली कांग्रेस जिल्ला कार्यसमिति स्याङ्जाका सभापति एवं पूर्व सांसद कमलप्रसाद पंगेनीको आज विहान ५ः३० बजे स्याङ्जामा हृदयघातबाट निधन भयो । बालकृष्ण उपाध्याय पंगेनी र मोहनीकुमारी पंगेनीको कोखबाट जन्मनु भएका स्वर्गीय पंगेनीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । स्वर्गीय पंगेनी २०६२ मा तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिकको तर्फबाट स्याङ्जा जिल्लाको सभापति हुनुहुन्थ्यो र २०६४ मा पार्टी एकीकरण पश्चात उहाँ नेपाली कांग्रेस जिल्ला कार्यसमिति स्याङ्जाको सहसभापति, पार्टीको १२ औँ महाधिवेशन २०६७ र १३ औँ महाधिवेशन २०७२ देखि हालसम्म निरन्तर स्याङ्जा जिल्लाको सभापति हुनुहुन्थ्यो । वि.सं. २०१९ जेठ १९ गते स्याङ्जाको भीरकोट न.पा. ६ (पुरानो खिलुङ्देउराली गा.वि.स. वडा नं. ८) मा जन्मनु भएका स्वर्गीय पंगेनी नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय सदस्य पनि हुनुहुन्थ्यो । स्वर्गीय पंगेनी २०६४ को संविधानसभा निर्वाचनमा स्याङ्जा जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट संविधानसभा सदस्यको उम्मेदवार, २०७० को संविधानसभा निर्वाचनमा स्याङजा क्षेत्र नं. २ बाट संविधानसभा सदस्यमा निर्वाचित र २०७४ मा स्याङ्जाको संघीय क्षेत्र नं. १ को प्रदेश सभा क्षेत्र नं. १ बाट नेपाली कांग्रेसको उम्मेदवार हुनुहुन्थ्यो । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कमलप्रसाद पंगेनीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । उहाँले भन्नु भएको छ— “नेपाली कांग्रेस स्याङ्जाका नेता एवं जिल्ला पार्टी सभापति कमलप्रसाद पंगेनीको असामयिक निधनबाट नेपाली कांग्रेस पार्टी तथा नेपालको लोकतान्त्रिक आन्दोलनको अभियानमा नै अपूरणीय क्षति पुग्न गएको छ । उहाँले नेपाली कांग्रेसको संगठन विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दछु । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चीर शान्तिको कामना गर्दछु । साथै, शोक सन्तप्त परिवारजनहरुमा हार्दिक समवेदना प्रकट गर्दछु ।”स्वर्गीय पंगेनीको अन्त्येष्ठी आजै गरिने कार्यक्रम रहेको छ । अन्त्येष्ठीमा सहभागी हुन नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल लगायतका नेताहरु आजै अपरान्ह स्याङ्जा प्रस्थान गर्दै हुनुहुन्छ । नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा स्याङ्जा जिल्लामा सक्रिय नेतृत्व प्रदान गर्नु भएका नेपाली कांग्रेस स्याङ्जाका सभापति स्वर्गीय कमलप्रसाद पंगेनीप्रति सम्मान प्रकट गर्दै निम्न लिखित शोकका कार्यक्रमहरु गर्ने नेपाली कांग्रेसले निर्णय गरेको छ ।

१. २०७५ श्रावण २१ गते केन्द्र र देशका ७६ वटै जिल्ला कार्यालयहरु बन्द गर्ने र पार्टीको झण्डा आधा झुकाउने ।

२. सम्बन्धित स्याङ्जा जिल्ला कार्यालय ३ दिन बन्द गर्ने र ३ दिनसम्म पार्टीको झण्डा आधा झुकाउने ।

३. केन्द्रीय कार्यालय र सम्बन्धित स्याङ्जा जिल्ला कार्यालयमा १३ दिनसम्म शोक पुस्तिका राख्ने ।

४. १३ औँ दिनका दिन स्याङ्जाको सदरमुकाममा श्रद्धाञ्जली सभाको आयोजना गर्ने ।

 

प्रकाश शर्मा

सचिव

Published : Sunday, 2018 August 5, 11:46 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया