प्रधानन्यायाधीश प्रकरणमा ओलीलाई कांग्रेसले दियो कठोर जवाफ

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओली अध्यक्ष रहेको संवैधानिक परिषदले सिफारिस गरेको सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई आफ्नै दललाई अस्वीकृत गर्न ह्वीप जारी गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्वातन्त्र न्यायपालिकामाथि प्रहार गरेको जनाएको छ ।

सिंहदरबारमा शनिबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री ओली र नेकपाले प्रक्रिया पुर्‍याएर आफैले सिफारिस गर्ने अनि संसदीय सुनुवाई समितिमा अस्वीकृत गर्न ह्वीप जारी गर्ने कार्यले प्रधानमन्त्रीको द्वेध चरित्र देखिएको कांग्रेसले जनाएको हो । प्रधानन्यायाधीशको सुनुवाई विधिपूवर्क हुन नसकेको भनेर आपत्ति जनाएको छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै मुख्य सचेतक बालकृष्ण खाँडले प्रधानमन्त्री आफैले विधिपूर्वक वरिष्ठ न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गरेर आफ्नै निर्देशनमा अस्वीकृत गरेको बताए ।

‘न्यायपरिषदले ३ जना वरिष्ठ न्यायाधीशलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्‍यो । प्रधानमन्त्री अध्यक्ष रहेको संवैधानिक परिषदले ३ जनाबाट पहिलो नम्बरका वरिष्ठ न्यायाधीशलाई संसदीय सुनुवाईका लागि पठायो’, उनले भने, ‘आफै प्रक्रिया पूरा गरेर सुनुवाई गर्न पठाउने । अनि आफ्नै दललाई ह्वीप जारी गरेर प्रधानन्यायाधीशलाई अस्वीकृत गराउने । यो त संविधान र स्वतन्त्र न्यायालयमाथिको गम्भीर प्रहार हो ।’

यस विषयमा आइतबारको संसद बैठकमा कांग्रेसले जोडदार रुपमा कुरा राख्ने मुख्य सचेतक खाँडले जानकारी दिए । ‘कांग्रेसले स्वतन्त्र न्यायालयमाथि प्रधानमन्त्री र उहाँको दल नेकपाबाट प्रहार भएका विषयमा आइतबारको बैठकमा धारणा राख्छ’, उहाँले भन्नुभयो, ‘कांग्रेस व्यक्ति दीपकराज जोशीको पक्षमा छैन । तर, संवैधानिक सर्वोच्चता, स्वतन्त्र न्यायपालिका र विधिको शासनका पक्षमा छ ।’

सभामुख कृष्णबहादुर महराले मन्त्रीसँग सवाल जवाफ गर्न नदिएको तथा त्यसपछि संसद बैठक बहिस्कार गर्नुपर्नाका कारणका विषयमा पनि दलको बैठकमा छलफल भएको थियो । यस विषयमा पनि कांग्रेसले सभामुख महरासँग कुरा गर्ने निर्णय गरेको छ ।

यसअघि शनिबार बिहान नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक सभापति देउवाको निवास बुढानिलकण्ठमा बसेको थियो । बैठकले प्रधानमन्त्री ओलीका कदम र क्रियाकलापहरू सर्वसत्तावादतर्फ उन्मुख रहेको भन्दै सामना गर्ने निर्णय गरेको थियो ।

Published : Saturday, 2018 August 4, 8:01 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया