राप्ती समाज युकेको वार्षिक भेला सम्पन्न

लण्डन । बेलायतमा बसोबास गर्ने राप्तीवासीहरूको संस्था, राप्ती समाज युकेको वार्षिक भेला गत शनिबार लण्डन नजिकै रहेको शहर
मेडस्टोनमा सम्पन्न भएको छ ।

राप्ती समाज युके स्थापनाको एघार वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोपाल थापाले राप्ती समाज युकेले गर्दै आएका रचनात्मक कामहरूको प्रशंसा गरे। उनले बेलायतस्थित नेपाली समुदायलाई बहुभाषी, बहुजाति सबै समुदायको साझा फूलबारीभन्दै यसलाई गोडमेल र मलजलका आवश्यकता रहेको बताए ।

स्वागत मन्तव्य दिंदै समाजका उपाध्यक्ष केशर रोकाले समाजले प्रवासमा बसेर पनि आफ्नो भाषा, संस्कृति जोगाउनुका साथै नेपालमा राप्तीवासीको सुखदुखमा साथ दिंदै आएको बताए ।

नेपालबाट आएका दाङ भरतपुरस्थित पद्मोदय पब्लिक उच्च माविका पूर्वप्राचार्य भूपाल योगीले विश्वकै सबैभन्दा विकसित मुलुकहरूमध्ये एक बेलायतमा आएर नेपालीहरूले सेवा गर्ने, ज्ञान हासिल गर्ने मौका पाउनु खुसीको कुरा भएको बताए । उनले सँधै आशावादी रहन र कहिल्यै हिनभावना नपाल्न पनि सुझाव दिए ।

अर्का अतिथि नेपाली कांंग्रेस दाङका उपसभापति कमानसिं भारतीले बेलायतमा राप्तीवासीहरू संगठित भएको देख्दा आफूलाई निकै खुसी लागेको बताए । उनले नेपालमा विपद पर्दा, अप्ठेरो पर्दा मन खोलेर सघाउन पनि सबै राप्तीवासीहरूलाई आग्रह गरे ।

सो अवसरमा पूर्वप्रधानाध्यापक योगी, उपाध्यक्ष भारती लगायत अतिथिहरूलाई खादा लगाएर सम्मान गरिएको थियो । गुरु पूर्णिमाको भोलिपल्ट भएको कार्यक्रममा भरतपुर उमाविका पूर्व विद्यार्थीले योगीलाई फूलगुच्छासहित संमान गरेका थिए ।

सो अवसरमा समाजका सदस्यहरूले अफगान युद्धमा दुबै गोडा गुमाएका भूतपूर्व गोर्खा सैनिक हरि बुढामगरले आउँदो वर्ष गर्न लागेको सगरमाथा अभियानमा सघाउनका लागि उठाएको ५,५०० पौण्ड हस्तान्तरण गरिएको थियो । ब्राइटसन ट्राभल्सको तर्फबाट मनोज रिजालले समाजलाई २५० पौण्ड हस्तान्तरण गरेका हुन् ।

सोअवसरमा समाजका सल्लाहकार विष्णु घर्ती, चर्चित साहित्यकार भावेश भुमरी लगायतले शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा विश्वविद्यालय तथा कलेजको पढाइ पूरा गरेका छात्रछात्रा, ब्रिगेड अफ गोर्खाजमा पदोन्नति भएका समाजका सदस्य तथा परिवारमा सन्तान बढेका सदस्यहरूलाई पनि सम्मान गरिएको थियो ।

समाजका अध्यक्ष हिक्मतसिं रोकाले धर्म, जात, राजनीतिबाट बाहिर बसेर पवित्र भावनाले समाजमा काम गर्ने गरेको बताए । उनले आफु हालै नेपाल गएको बेला रोल्पा निवासी दिलबहादुर घर्तीलाई खाडी मुलुकमा जेलबाट छुटाउन समाजले संकलन गरेको नौ लाख रुपियाँ उनकी श्रीमती मनिका जीएमलाई हस्तान्तरण गरेर आएको बताए । त्यस्तै राप्तीका विभिन्न जिल्लामा दैवी प्रकोपका घटनाहरू हुँदा समाजले सहयोग गर्ने गरेको जानकारी दिए ।

कार्यक्रमको दोश्रो चरणमा सांगीतिक कार्यक्रमको सन्चालन समाजकी सांकृतिक सदस्य करिश्मा घर्तीले गरेकी थिइन् । सो कार्यक्रममा नेपालबाट आएकी चर्चित दोहोरी गायिका माया लामाले लोकप्रिय गीतहरू गाउँदै सहभागीलाई नचाएकी थिइन् ।

सो अवसरमा बोल्दै समाजका अध्यक्ष हिक्मतसिं रोकाले आफूहरू केही लिनभन्दा समाजलाई केही दिन भनेर आएको बताउँदै समाज सबै राप्तीवासीको साझा मन्च भएको जनाए । समाजका सचिव दिनेश खड्काले कार्यक्रम सन्चालन गरेका थिए ।

Published : Saturday, 2018 August 4, 7:49 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया