हरेक घुम्तीमा कांग्रेसको सामना गर्दागर्दै थाक्ने भयो ओलीको सत्ता

काठमाडौं । राजधानीसहित देशभरि शानदार प्रदर्शन गरेको नेपाली कांग्रेसले अबका दिनमा सरकारलाई सहज रुपमा बस्न नदिने संकेत दिएको छ ।

पर्ख र हेरको नीति लिएका कारण विगत छ महिनादेखि कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीका गतिविधिलाई सहज रुपमा अगाडि बढ्न नदिई कांग्रेसले आउने दिनमा आफूलाई सशक्त प्रतिपक्षको रुपमा उभ्याउने जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आफूहरू संविधान कार्यान्वयन र मूल्य वृद्धिका विरुद्ध सक्रिय हुने बताएका छन् ।

‘जनताका मागप्रति आँखा देख्न छाडेको कम्युनिस्ट सत्तालाई कांग्रेसले सहि मार्गदर्शन दिनेछ’, उनले भने, ‘सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने, कालोबजारी र महँगी नियन्त्रण गर्नुपर्ने, अभिव्यक्ति स्वतन्त्रताका लागि कांग्रेसको अडान रहनेछ ।’ जनताका पक्षमा अरु मागहरू पनि आउने उनले बताए ।

कांग्रेसले मंगलबार गरेको प्रदर्शनबाट कम्युनिस्ट सत्ता हच्किएको दावी गरेको छ । ओली नेतृत्वको कम्युनिस्ट सरकार ‘ध्रुबे हात्ती’ बन्न खोजेको भन्दै कांग्रेसले आरोप लगाउँदै आएको छ ।

कांग्रेसका नेताहरूले पनि अबका दिनमा आफूहरू कम्युनिस्टहरूको थिचोमिचो नसहने जनाएका छन् । निजामती कर्मचारीलाई धम्काउने, न्यायालयमाथि आक्रमण, तल्लोस्तरका करार र ज्यालादारीका कर्मचारीको म्याद थप नगर्ने, भ्रष्टाचारमा मात्रै आँखा लगाउने जस्ता सरकारका क्रियाकलापलाई पनि कांग्रेसले सूची बनाएर निगारनी गर्ने जनाएको छ ।

सरकारले गर्ने भेदभावपूर्ण व्यवहारको सदन र सडक दुबै ठाउँबाट विरोध हुने प्रवक्ता शर्माले बताएका छन् । कांग्रेसले सत्ताबाट हुने अवैधानिक र गलत निर्णयहरूको निगरानी गर्ने जनाएको छ ।

प्रत्येक मन्त्रालयलाई निगरानी गर्ने गरेर प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद रहने गरी अनुगमन समिति बनाइने कांग्रेसले जनाएको छ ।

Published : Thursday, 2018 August 2, 4:39 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया