ज्ञानेन्द्रलाई जस्तै मात लाग्यो ओलीलाईः सिटौला

झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई लागेको जस्तै मात अहिलेको कम्युनिस्ट सरकारलाई पनि लागेको आरोप लगाएका छन् ।

गृहजिल्ला झापामा मंगलबार सरकारविरुद्ध भएको प्रदर्शनपछि कोणसभामा बोल्दै नेता सिटौलाले संख्याको आधारमा सरकार तानाशाह बन्न खोजेको बताए ।

‘राजा ज्ञानेन्द्रलाई जस्तै सरकारलाई पनि मात लाग्यो । ज्ञानेन्द्रले जनता बिर्सेका थिए । शासन व्यवस्था आफ्नो हातमा लिएका थिए’, उनले भने, ‘दुईतिहाइ संख्याको आधारमा सरकार तानशाह बन्न खोज्यो ।’

संख्याको आधारमा नभइ संविधानअनुसार शासन गर्न प्रधानमन्त्रीलाई सिटौलाले आग्रह गरेका छन् ।

‘सपना र कल्पनामा उड्दै हुनुहुन्छ । तपाईं होसमा हुनुहुन्न । धेरै नमात्तिनुस्’, सिटौलाले भने, ‘जनतालाई नछाड्नुस् । जनताभन्दा ठूलो कम्युनिष्ट पार्टी होइन ।’

द्वन्द्वकालका मुद्दा अझै बाँकी रहेको भन्दै सिटौलाले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कम्युनिष्ट पार्टी एक हुँदैमा द्वन्द्वकालका पीडा नहराउने चेतावनी दिए । सिटौलाले प्रचण्डलाई आफ्नो इतिहास सम्झन आग्रह गरे ।

Published : Tuesday, 2018 July 31, 7:09 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया