गगनको जवाफले कांग्रेस विरोधी कम्युनिस्टहरू ‘कालोनिलो’

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद एवम् केन्द्रीय सदस्य गगन थापाले चिकित्सा शिक्षा विधेयकमाथिको विरोधको सूचना फिर्ता लिएका छन् ।

डा.गोविन्द केसी अनसनमा रहेका बेला चिकित्सा शिक्षा अध्यादेश विपरित सरकारले नयाँ विधेयक अगाडि बढाएको विरोधमा थापाले सदनमा विरोधको सूचना दिएका थिए ।

थापाले सरकार र डा. केसीबीच भएको सहमतिको स्वागत गरे । ‘वार्ता भाँड्ने षड्यन्त्र भयो भनेर चर्चा भयो । मलाई टिप्पणी गर्नु छैन’, थापाले भने, ‘विधेयक फिर्ता लिने अडान छाड्नुस्, कन्टेन्टमा छलफल गर्नुहोस्, सम्झौतामा पुग्नुहोस् भन्ने पहिलो व्यक्ति म हुँ ।’

उनले आफूले विगतदेखि नै केसी ‘जोगी’ रहेको र कसैको झोला बोक्ने मान्छे नभएको बताउँदै आएको उल्लेख गरे ।

‘प्रधानमन्त्रीले पाखुरा बटारेर सत्याग्रह हुन्छ भन्नुभयो । साथीहरूलाई प्रतिरक्षा गर्न भन्नुभयो । अनि कतिपयले देश निकाला गर्नुपर्छ । कतिपयले अधिनायकवादी । कतिपयले लडाकुको भेषमा आएको भन्नुभयो । तपाईंहरूले बोलेको कुरा रेकर्डमा छ’, उनले भने । उनले पटक–पटक एउटै व्यक्ति अनसन बस्नुपर्ने लाजको विषय भएको बताए ।

‘अनसन श्रृंखला यसपटकलाई अन्तिम बनाउँ’, थापाले भने, ‘यो पटक केसीलाई पनि हार्न दिन्नौं । हामी पनि हार्दैनौं । नेकपाले पनि यसको जिम्मा लिन्छ । कांग्रेस त आफैं अध्यादेश लिएर आएको छ’, उनले भने, ‘आजको गरेको सम्झौतालाई कानुनमा लिएर जाने कुरामा शतप्रतिशत सहयोगको रुपमा लिन्छ ।’

नेता थापाले आफूले राखेको विरोधको सूचना भन्दा परिस्थिति फेरिएकाले सूचना फिर्ता लिने बताए ।

‘यो क्षणमा सरकारलाई विश्वास गरी, सिङ्गो संसदलाई विश्वास गर्दै सहमतिका विषय राष्ट्रिय चिकित्सा शिक्षाको अंग बन्ने विश्वासका साथ विरोधको सूचना फिर्ता लिन्छु’, थापाले भने ।

Published : Friday, 2018 July 27, 5:56 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया