मेडिकल शिक्षामा थाइल्याण्डको चासो, सहयोग गर्न तयार

काठमाडौं । उपप्रधान तथा स्वास्थ्य एवम् जनसंख्यामन्त्री उपेन्द्र यादवले थाइल्याण्ड सरकारले नेपालमा चिकित्सा विज्ञान क्षेत्रमा अध्ययनका लागि सहयोग गर्ने आश्वासन दिएको बताउनुभएको छ ।

बैंकक भ्रमण सकेर शुक्रबार स्वदेश फर्कनुभएका उपप्रधानमन्त्री यादवले बैंकक भ्रमणका क्रममा भएको उच्चस्तरीय वार्तामा स्वास्थ्य र शिक्षा क्षेत्रमा दुबै मुलुकले एकआपसमा सहयोग, सहकार्य गर्ने सहमति भएको उल्लेख गर्नुभयो ।

‘नेपालका मेडिकल कलेजहरूको स्तरोउन्नति, स्वास्थ्य सेवा प्रदान, उच्चस्तरीय नर्सिङ तालिम प्रदान गर्ने सहमति भएको छ’, उहाँले भन्नुभयो, ‘नेपालका अस्पतालहरूलाई आधुनिकीकरण गर्नेबारेमा पनि सहमति भएको छ ।’
उहाँले भन्नुभयो, ‘युनिभर्सल हेल्थ कभरेजको लक्ष्य प्राप्त गर्न नेपाललाई सहयोगका साथै स्वास्थ्य तथा शिक्षा क्षेत्रमा मिलेर काम गर्ने सहमति भएको छ ।’ नेपाली विद्यार्थीलाई चिकित्सा विज्ञान, नर्सिङ लगायतका क्षेत्रहरूमा अध्ययन र तालिमको लागि सहयोग गर्ने सहमति भएको बताउनुभएका मन्त्री यादवले भन्नुभयो, ‘महिडोल विश्वविद्यालयले नेपाली विद्यार्थीलाई चिकित्सा क्षेत्रमा अध्ययन तथा छात्रबृत्ति लगायत अन्य सहयोग प्रदान गर्ने सहमति भएको छ । थाइल्याण्ड सरकार पनि सकारात्मक छ ।’
मन्त्री यादवले आफ्नो भ्रमण र वार्तालाई थाइल्याण्ड सरकार ठूलो महत्व दिएको पाएको उल्लेख गर्नुभयो । ‘थाइल्याण्ड सरकार र महिडोल विश्वविद्यालयले हाम्रो भ्रमणलाई उच्च प्राथमिकताका साथ महत्व दिएको पयौँ’, उहाँले भन्नुभयो ।
थाइल्याण्ड सरकारसँग भएको वार्ता र सहमतिले नेपालको चिकित्सा विज्ञान र शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने स्वास्थ्यमन्त्री यादवले विश्वास व्यक्त गर्नुभएको छ ।
थाइल्याण्डका स्वास्थ्यमन्त्रीले पनि नेपालले चाहेको खण्डमा स्वास्थ्य र शिक्षा क्षेत्रका विषयमा थाइल्याण्ड सरकार सहयोग गर्न तयार रहेको बताउनुभएको थियो । ‘स्वास्थ्य क्षेत्रमा अध्ययन अनुसन्धन तथा स्वास्थ्य क्षेत्रका सम्पूर्ण गतिविधिमा सहयोग गर्न तयार छौं’, थाइल्याण्डका स्वास्थ्यमन्त्रीको भनाइ उदृत गर्दै मन्त्री यादवले भन्नुभयो, ‘दुवै देश मिलेर काम गरौं । नेपालका विश्वविद्यालयलाई हरेक विषयमा सहयोग गर्न थाई सरकार तयार छ ।’
मन्त्री यादवले नेपाल र थाइल्याण्डबीच वर्षौदेखिको सम्बन्ध रहिआएको समेत उल्लेख गर्नुभएको थियो । उहाँले राजा जनकका साथै लुम्बिनी र भगवान बुद्धकोले पनि दुई देशलाई जोडेको बताउनुभयो ।
थाइल्याण्डको महिडोल विश्वविद्यालयमा आयोजित सम्मेलनमा भाग लिन उपप्रधान एवम् स्वास्थ्यमन्त्री यादव गत मंगलबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।
महिडोल विश्वविद्यालय बैंककको औपचारिक निमन्त्रणमा भएको सो भ्रमणका क्रममा थाइल्याण्डका तर्फबाट स्वास्थ्यमन्त्री इमेरिटस पियासाकोल, शिक्षामन्त्री उडम कचिन्टर्न, शिक्षासचिव मायारा कुशुम, महिडोल विश्वविद्यालयका पदाधिकारीसँग वार्ता भएको थियो । स्वास्थ्यमन्त्री यादवले महिडोल विश्वविद्यालयको सम्मेलनलाई सम्बोधन पनि गर्नुभएको थियो ।
थाइल्याण्ड भ्रमणमा नेपालको तर्फबाट उपप्रधान तथा स्वास्थ्य एवम् जनसंख्यामन्त्री उपेन्द्र यादव तथा काठमाडौं विश्वविद्यालयका डीन प्रा.डा.राजेन्द्रप्रसाद कोजू लगायतको प्रतिनिधिमण्डल सहभागिता रहेको थियो ।

Published : Friday, 2018 July 27, 4:04 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया