कम्युनिस्टलाई सच्चिन कांग्रेसले दियो एकमौका, ओलीलाई राहत

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले एकदलीय सर्वसत्तावाद ल्याउन कम्युनिस्टहरूले विरोध गर्ने अधिकारमा अंकुश लगाएको बताएका छन् ।

वीपी कोइरालाको ३६औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसले पार्टी मुख्यालय ललितपुर सानेपामा आइतबार आयोजना गरेको कार्यक्रममा नेताहरूले विरोध गर्ने अधिकार खोसेर सर्वसत्तावाद लाद्ने प्रयास गरेको बताएका हुन् । कम्युनिस्ट सरकारलाई सच्चिन दिन साउन १५ गते एकदिने प्रदर्शन गर्न लागेको भन्दै त्यसपछि पनि सुधार नभए कडा आन्दोलन गर्ने चेतावनी दिए ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले एकलौटी रुपमा निर्णय गरेर शान्तिपूर्ण विरोध गर्न पाउने जनताको अधिकारलाई रोक्न निषेधित क्षेत्र घोषणा गरेको आरोप लगाए । ‘निषेधित क्षेत्र लागू गर्ने निर्णय षड्यन्त्रपूर्वक लिइएको छ’, देउवाले भने, ‘वीपीले कम्युनिस्टहरू प्रजातन्त्रवादी हुँदैन भन्नुभएको थियो । उहाँले चिन्नुभएको थियो । हामीले चिनेका रहेन छौँ । बल्ल चिन्यौँ । कम्युनिस्टहरूसँग कहिल्यै पनि मिल्नु हुँदैन भन्ने कुरा बल्ल अहिले बुझ्दै छु ।’

सभापति देउवाले भने, ‘उनीहरू एकदलीय सर्वसात्तावादी सशान ल्याउन खोजेका छन् । सर्वसत्तावाद आयो भने भोलिका दिन लेख्न, बोल्न र विरोध गर्न दिँदैनन् ।’

देउवाले डा.गोविन्द केसीको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै जायज माग पूरा गराउन साथ दिने बताए । ‘भ्रष्टाचार गर्नका लागि सरकारले निजीलाई कलेजलाई अनुमति दिने गरेर विधेयक ल्याएको छ’, देउवालदे भने, ‘पैसा उठाउँदै खाँदै गरेका छन् ।’

वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट सरकारका क्रियाकलापले लोकतन्त्रलाई सहयोग नमिल्ने बताए । ‘कम्यनिस्टहरूले समाजवाद भनेका छन् । सरकार क्वालिटीको शिक्षा र स्वास्थ्य बनाउनेतिर लागेको छ ?’, प्रश्न गर्दै उनले भने, ‘दमन गर्ने नीतिमा सरकार उत्रिएको छ । वार्ता गर्नेभन्दा पनि दमन गरेर सत्ता चलाउन चाहन्छ । यो कुरा धेरै टिक्नेवाला छैन ।’

साउन १५ गते अन्तिम पटक चेतावनी स्वरुप सांकेतिक रुपमा प्रदर्शन गर्ने बताएका पौडेलले भने, ‘कम्युनिस्टहरू सुध्रिने छाँट देखाएनन् भने देशैभरि आन्दोलन उठ्छ । त्यसपछि के–के हुन्छ आफै थाहा हुन्छ ।’

सत्तारुढ कम्युनिस्ट पार्टीले नयाँ वर्ग जन्माउन लागेको भन्दै पौडेलले देशमा नयाँ शोषक वर्गहरू जल, भू–माफिया जन्माउने गतिविधि गरेको बताए । ‘आफ्नालाई जे पनि गर्न छुट दिने आरुलाई सफाया गर्ने’, पौडेलले भने, ‘कम्युनिस्ट सरकारले लोकतन्त्रवादी कर्मचारीलाई सताउने काम भएको छ । छानिछानी दुःख दिइएको छ ।’

Published : Sunday, 2018 July 22, 12:11 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया