छिट्टै अलोकप्रिय बन्यो कम्युनिस्ट सत्ता, आफ्नै प्रशंसा गराउँदै ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नो प्रशंसा र गुणगान गाउने गरेर टेलिभिजन कार्यक्रम बनाएर देखाउन शुरु गरेका छन् । ओलीले सरकारी स्वामित्वको नेपाल टेलिभिजनलाई प्रयोग गरेर आफ्नो बखान गर्न लगाएका हुन् ।

महिनामा दुई दिन आउने ‘जनतासँग प्रधानमन्त्री’ नामक कार्यक्रमका लागि लाखौँ रुपियाँ खर्च गरिएको आरोप लागेको छ । साउन २ गते पहिलो कार्यक्रम प्रस्तुत भएको छ । पहिलो कार्यक्रम नै विवादित बनेको छ ।

पूर्वएमाले आवद्ध मनोज पाण्डेले कार्यक्रम चलाएका छन् । ५० मिनटको कार्यक्रममा पाण्डेले प्रधानमन्त्री ओलीको गुणगान बाहेक केही गरेका छैनन् । ओलीले पनि आफ्नो प्रशंसालाई खुलेर सुनेका छन् । बेलाबेला रुने प्रयास पनि गरेका छन्, ओली । कार्यक्रम सञ्चालक पाण्डेले पनि आफू कार्यक्रम बनाउने क्रममा रोएको बताएका छन् ।

‘जनतासँग प्रधानमन्त्री’ नामक कार्यक्रम युट्युबमा हेरेपछि रुपा चौधरीले कार्यक्रमले आफू दिक्क भएको बताइन् । ‘प्रधानमन्त्री केपी ओलीज्यू प्रशंसाको कति भोको हुनु हुँदो रहेछ थाहा पाइयो’, चौधरीले भनिन्, ‘सरकारी सञ्चारमाध्यमको यसरी दुरुपयोग हुँदै जाने हो भने जनताको कुरा कसले सुन्ने होला ?’ ओलीको ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रमलाई युट्युबमा पनि राखिएको छ । यो कार्यक्रमलाई पूर्वमाओवादी केन्द्र निकटको एबीसी टेलिभिजनले पनि प्रशारण गर्ने गरेको छ ।

पहिलो कार्यक्रममा ओलीले तुइनको विषयलाई बढाइ–चढाइ प्रचार–प्रसार गरेका छन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले आँसु पुछेको जस्तो पनि गर्छन् । एकपल्ट ओली भावह्वील भएको पनि देखाइन्छ ।

ओलीले सुशील कोइराला नेतृत्व सरकारले तुइन मर्मतका लागि २७ करोड मात्र छुट्याएको भनेर आलोचना गरेका छन् । अनि आफू पहिलोपल्ट प्रधानमन्त्री बनेपछि तुइनबाट झोलुंगे निर्माण गर्न १४१ करोड छुट्याएको दाबी पनि ओलीले गरेका छन् ।

कार्यक्रममा प्रस्तुत तथ्यङ्क अनुसार ओलीको पहिलो कार्यकालमा ८ वटा तुइनमात्र विस्थापित भएको दाबी गरिएको छ । त्यसपछिका आर्थिक वर्षमा अर्थात पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाको कार्यकालमा क्रमशः ५७ र २५ तुइन झोलुंगे पुलनिर्माणद्वारा विस्थापित गरिएका छन् ।

अर्थात् अहिलेसम्म ९० तुइन विस्थापित भइसकेका छन् । अन्य ४४ ठाउँमा पुल निर्माणकार्य जारी छ ।

‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा आलोचित र बद्नाम हुँदै गएका प्रधानमन्त्री ओलीको छवि उकास्न नेपाल टेलिभिजनको महँगो समय प्रयोग गर्नु उचित हो कि होइन सामाजिक सञ्जालमा टिकाटिप्पणी हुन थालेको छ ।

शासक अलोप्रिय हुन थालेपछि बचाउका लागि सरकारी सञ्चारमाध्यमको दुरुपयोग गर्ने, हनुमानहरूबाट प्रशंसा गराउने जस्ता कार्य गर्ने गरेको सामाजिक सञ्जालमा टिकाटिप्पणी भएको छ ।

Published : Saturday, 2018 July 21, 12:05 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया