कांग्रेसले फेरि देखायो राजनीतिक संस्कार, ओली चकित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई जबर्जस्ती अघि बढाए संसद अवरुद्ध पार्ने चेतावनी दिएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले संसदमा पेश गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई जबर्जस्ती अघि बढाए संघीय संसद र सबै प्रदेशका प्रदेश सभा पनि अवरुद्ध पार्ने चेतावनी दिए ।

बुधबार काठमाडौंमा पत्रकारसँग कुरा गर्दै शर्माले बिहीबार प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने भएकाले गण्डक प्रदेशको सभा भने अवरुद्ध नपार्ने पनि स्पष्ट पारे ।

गण्डक प्रदेशमा कांग्रेसले सदन अवरोध नगर्ने भएपछि ओलीलाई राहत मिलेको छ ।

जिम्मेवार प्रतिपक्ष भएको नाताले प्रधानमन्त्रीले बिहीबार सम्बोधन गर्ने गण्डक प्रदेशको सभा भने अवरुद्ध नपार्ने पार्टीको नीति रहेको प्रवक्ता शर्माको भनाई छ ।

नेपाली कांग्रेसले ढिलोमा आगामी असोजको पहिलो हप्ताभित्र पार्टीको महासमिति बैठक बोलाउने भएको छ ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले भदौको मसान्त वा असोजको पहिलो हप्ताभित्र पार्टीको महासमिति बैठक बोलाउने जानकारी दिए ।

उनले पार्टीको विधान मस्यौदा समिति बिहीबार गठन हुने विश्वास पनि व्यक्त गरे । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले विधानमा बस्ने सदस्यहरूको नामावली दिने सहमति गरेको उल्लेख गर्दै उनले बिहिबार विधान मस्यौदा समिति गठन हुने विश्वास व्यक्त गरे ।

कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलबीच विधान मस्यौदा समिति निर्माणका विषयमा बुधबार बिहान छलफल भएको थियो । सोही छलफलमा नेताहरु विधान मस्यौदा समिति गठन गर्न सहमत भएको प्रवक्ता शर्माले बताए ।

विधान मस्यौदा समिति बढीमा ११ सदस्यीय हुने गरी छलफल अघि बढाएको पनि उनले बताए । विधानलाई टोलसमितिसम्म छलफल गरेर पारित गर्ने विधि पनि तय गरिएको नेपाली कांग्रेसले जनाएको छ ।

प्रवक्ता शर्माले विधानमा व्यापक छलफल गरी टुंगो लगाउन कम्तिमा ४० दिन लाग्ने र त्यसलगत्तै महासमिति बैठक बोलाउने तयारी गरिएको पनि जानकारी दिए ।

Published : Wednesday, 2018 July 18, 4:41 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया