कांग्रेस नेता समक्ष औकात देखाए यी रावाजावादीले

काठमाडौं । एन्फामा भ्रष्टाचार गरेको अभियोगमा फिफाबाट निलम्वनमा परेका राप्रपाका नेता गणेश थापाले नेपाली कांग्रेसका नेता रामहरि खतिवडालाई कुटपिट गर्ने धम्की दिएका छन् ।

व्यापारी एवम् कांग्रेसका सांसद विनोद चौधरीको आफन्तको पारिवारिक विवाह भोजमा थापाले खतिवडालाई ठीक पार्ने धम्की दिएका हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का तत्कालीन अध्यक्ष थापाले मंगलबार राति होटेल सोल्टीमा आयोजित विवाहको पार्टीमा खतिवडालाई दुरव्यवहार गरेका हुन् । एन्फा नेतृत्वमा २० वर्षसम्म रहेर निलम्बनमा रहेका थापाले खतिवडालाई तथानाम गाली गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

अघिल्लो संसद्को सार्वजनिक लेखा समितिले थापालाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष सिफारिस गरेको थियो । अख्तियारको निर्देशनमा थापा सांसद पदबाट ६ महिना निलम्बनमा परेका थिए ।

आफूलाई कारबाही गरिएको विषयमा थापाले खतिवडालाई धम्की दिएका हुन् । कांग्रेस नेता खतिवडाले तत्कालीन समयमा लेखा समितिमा उठेको भ्रष्टाचारको कुरालाई लिएर थापा गालीगलौजमा उत्रिएको बताएका छन् ।

थापालाई फिफाले १० वर्षसम्म फुटबलसम्बन्धी गतिविधिमा संलग्न हुन रोक लगाएको छ । चार वर्ष लामो छानबिनपछि व्यक्तिगत लाभका लागि भ्रष्टाचार गरेको निष्कर्ष निकाल्दै फिफाले उनलाई २१ लाख रुपैयाँ जरिबानासहित १० वर्षसम्म फुटबलसम्बन्धी गतिविधिमा संलग्न हुन रोक लगाएको थियो ।

विवाह भोजमा रक्सी पिएर मातिएका थापाले एन्फामा रहेका सबै व्यक्तिले आफूसँग माफी मागिसकेको तर खतिवडाले माफी नमागेको भन्दै रिस देखाएका थिए ।

‘फिफाको निलम्बन म आफैं मिलाउँथें, लेखा समितिबाट मलाई किन कारबाही गर्ने निर्णय गरेको ? तपाईंले पनि मसँग माफी माग्नुपर्छ’, भन्दै थापा खतिवडातर्फ गएका थिए ।

खतिवडाले समितिमा परेको उजुरी र प्राप्त कागजपत्रअनुसार कारबाही गरिएकाले किन माफी माग्ने भन्दै प्रतिवाद गरेका थिए । स्थिति तनावपूर्ण भएपछि भोजमा सहभागी वरिष्ठ अधिवक्ता शम्भु थापाले गणेश थापालाई सम्हालेका थिए ।

तत्कालीन लेखा समितिले एन्फामा भएको ५९ करोड रुपैयाँ भ्रष्टाचारमा दोषीलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको थियो । अख्तियारले यस्तो प्रमाणित घटनामा संलग्न व्यक्तिको मुद्दालाई अगाडि नबढाई तामेलीमा राखेको छ ।

फिफाले अध्यक्ष थापामाथि सन् २००९ र २०११ को फिफा चुनावमा गलत काम गरेको, विभिन्न समयमा व्यक्तिगत र पारिवारिक लाभका लागि रकम लिएर भ्रष्टाचार गरेको लगायतका आरोप लगाएको थियो ।

दुई वर्षअघि पाँच नेपाली फुटबल खेलाडीहरू ‘म्याच फिक्सिङ’को आरोपमा पक्राउ परेपछि थापालाई भ्रष्टाचार आरोपमा फिफाले कारबाही गरेको थियो ।

Published : Friday, 2018 July 13, 11:39 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया