बालुवाटारभित्रै फेला परे प्रधानमन्त्रीलाई घेराबन्दी गर्ने ‘डन’, पूर्वएमालेहरू परे दङ्ग

काठमाडौं । पूर्व एमालेका सचिव योगेश भट्टराईबाट आफू असुरक्षित ठानेपछि ट्वीटमार्फत कठोर आलोचना गरेर मन्त्री बन्ने बाटोमा विष्णु रिमाल अबरोध बने । रिमालकै ट्वीटले भट्टराईको मन्त्री बन्ने योजना भताभुङ्ग बन्न पुग्यो । रिमाल र भट्टराईबीच आरोप प्रत्यारोप चल्यो । त्यसको फाइदा पूर्वपत्रकार गोकुल बास्कोटाले अवसर पाए । रिमालले प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारको जिम्मेवारी पाए । भट्टराई हेरेको हेरै भए ।

प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकारको जिम्मेवारी बहन गर्दै आएका रिमालले बालुवाटारमा भोटे ताल्चा लगाएका छन् । रिमालले आफू निकटका नेता कार्यकर्तालाई मात्रै ओलीसँग भेट गर्न दिन्छन् । आफू अनुकूलको सूचनामात्रै ओली समक्ष पु¥याउँछन् । बिहानदेखि अबेर रातिसम्म बालुवाटारमै बस्ने गरेका रिमालले राजनीतिक व्यक्तिहरूलाई भन्दा पनि व्यापारीहरूलाई ओलीसँग भेटाउने गरेको आरोप छ ।

यसको उदाहरण प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला देखिएको छ । रिमालकै दवावमा यति एयरलाइन्सका मालिक आङ्छिरिङ शेर्पा र एनसेलका मालिक सतिशलाल आचार्यलाई भ्रमण टोलीमा राखिएको थियो । त्यति मात्रै होइन सल्लाहकार रिमालले आङ्छिरिङ शेर्पाको हिमालय एयरलाइन्सको विमानलाई चीन जान प्रयोग गराएका थिए । नेपाल वायु सेवा निगमको विमान हुँदाहुँदै शेर्पाको दवाव र प्रलोभनमा परेर रिमालले हिमालय एयरलाइन्स प्रयोग गराएको आरोप छ ।

ओलीलाई भेट्न आउने मन्त्रीहरूलाई समेत रिमालले सहज पहुँच दिने गरेका छैनन् । ओलीको जनसम्पर्क पहिलाको जस्तो छैन । ओली यसबारेमा अनभिज्ञ रहेको स्रोतको भनाइ छ । रिमालकै डिजाइनमा ओलीका निजी सहयोगी अर्थात भतिजा राजेश शाक्यले पनि नेता कार्यकर्तामाथि भेदभाव गर्ने गरेको आरोप । शाक्यले पनि राजनीतिक गतिविधिलाई भन्दा पनि व्यापारिक व्यक्तिहरूलाई महत्व दिने गरेको पूर्वएमालेका एकजना सांसदले गुनासो गरे । ‘प्रधानमन्त्रीलाई भेट्न नपाएको चार महिना हुन लाग्यो’, पूर्वएमालेका एकजना सांसदले भने, ‘विष्णु रिमाल र राजेश शाक्यलाई फकाउन लागेको चार महिना भयो । अहिलेसम्म भेट हुन सकेको छैन ।’

ओलीको सचिवालयले तालिका बनाएर सांसद र कार्यकर्तालाई भेट्ने समाचार प्रकाशित गराएका थिए । तर, कसैलाई पनि ओलीसंग भेट्न दिइएको छैन । ओलीसँग भन्दा पनि ओलीको सचिवालयमा रहेका विष्णु रिमाल, राजेश शाक्य, राजन भट्टराई लगायतसँग नेता कार्यकर्ता आक्रोशित भएका छन् । पूर्व एमालेहरूले सल्लाहकार रिमाललाई ‘डन’को परिचय दिन थालेका छन् ।

ओलीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले राष्ट्रिय भूकम्प प्राधिकरणका सचिव अर्जुन कार्कीसँग मिलेर स्कुल बनाउने विषयमा सेटिङ मिलाएको आरोप छ । भूकम्प प्रभावित जिल्लाका ६७ विद्यालय बनाउन झण्डै चार अर्वको टेण्डर रिमाल, कार्की र सीमित ठेकेदारबीच मिलोमतो भएको उच्च स्रोतको भनाइ छ । यूनाइटेड पोष्ट साप्ताहिकबाट साभार

Published : Thursday, 2018 July 12, 12:13 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया