विवादित मन्त्री अधिकारी ओलीको निगरानीमा

काठमाडौं । दुई महिना अगाडि पूर्वएमाले निकटका पत्रकारलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले राखेको रात्रिभोजमा दुई समूहबीच झण्डै कुटाकुट भयो ।

आफ्नो एकसय दिनेको कार्यप्रगति विवरण सार्वजनिक गर्नुभन्दा दुई दिन अगाडि अधिकारीले दरबारमार्गको एक होटेलमा मदिरासहितको रात्रिभोज राखेका थिए । त्यो भोजमा मदिराले मात्तिएका दुई व्यक्तिवीच भनाभन भएपछि उत्पन्न भएको परिस्थितिलाई मन्त्री अधिकारी आफैले ह्याण्डल गरेका थिए ।

तारा गाउँ विकास समितिको शेयर बिक्रीमा पनि मन्त्री अधिकारीको नाम जोडिएको छ । त्यस बेला मन्त्री अधिकारीले आफ्नो पदीय आचरण भुलेर गतिविधि गरेको आरोप छ । त्यति मात्रै होइन मन्त्री अधिकारीले सिम्रिक एयरका मालिक रामेश्वर थापाको जग्गा रहेको काभ्रेमा पुगेर विमानस्थल बनाउने घोषणा गरे । अधिकारीको घोषणाले सरकार र जनतालाई फाइदा त पुगेन । तर, व्यापारी थापाको जग्गाको भाउ बढ्यो । थापालाई राम्रो फाइदा भयो ।

आफ्ना अंगरक्षकलाई छातो ओडाउन लगाएर पनि मन्त्री अधिकारीले बद्नामी कमाएका छन् । सुरक्षाकर्मीले उनलाई छाता ओडाउँदै गरेको तस्बिर र भिडियोले सामाजिक सञ्जालमा अधिकारीको ठूलो आलोचना भएको थियो । बजेटमा पनि आफ्नै दलका सांसदहरूको क्षेत्रमा भेदभाव गरेपछि मन्त्री अधिकारीलाई जेल हाल्ने माग संसदमा उठ्यो । अधिकारीलाई जेल हाल्ने माग गर्ने उनकै दलका सांसद मेटमणि चौधरी र प्रेम आले थिए ।

यी र यस्तै खालका विवादमा आइरहने मन्त्री अधिकारी फेरि अर्को विवादमा परेका छन् । वाइडबडी विमान खरिद प्रकरणमा बाइट लिन पुगेका एभिन्यूज टेलिभिजनका पत्रकारको माइक खोस्न खोजेर उनले अहंहिष्णुता देखाएका छन् ।

अर्बौं पर्ने विमान खरिदमा भएको अनियमितताका बारेमा प्रश्न सोध्ने पत्रकारको दायित्व र कर्तव्य हो । जवाफ दिनुपर्ने दायित्व मन्त्री अधिकारीको हुन्छ । तर, मन्त्री अधिकारीले जवाफ दिनुको साटो पत्रकारको माइक खोस्न खोजे । उनको त्यो हर्कतले मन्त्री अधिकारी कुन स्तरसम्म तलझर्छन् भन्ने देखाएको छ ।

संसदको लेखा समितिको सदस्य र विकास समितिको सभापति भएका बेला अधिकारीको नाम विभिन्न अनियमिततामा जोडिएर आएका थिए । अधिकारीले नै विकास समितिको सभापति भएका बेला एनसेललाई फाइदा पुग्ने गरेर निर्णय पनि गरेका थिए । त्यो निर्णयको सबैले विरोध गरेका थिए ।

प्रधानमन्त्री केपी ओलीको नजरमा मन्त्री अधिकारी परेका छन् । राम्रो काम गरेर भन्दा पनि अधिकारीलाई विवादमा आइरहने मन्त्रीका रुपमा ओलीले चिन्न थालेका छन् । ओलीको सचिवालयका एकजना सल्लाहकारले भने, ‘रविन्द्र अधिकारीज्यू विवादमा आइरहनु भएको छ । प्रधानमन्त्रीज्यीले नोटिस गर्नुभएको छ ।’

Published : Thursday, 2018 July 12, 12:00 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया