देउवा-पौडेलको मिलनले कांग्रेसलाई फाइदा, सिटौला समूहको पत्तासाफ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल नजिक भएसँगै आत्तिएका कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र अर्जुन नरसिंह केसीले नयाँ रणनीति बनाएको खुलासा भएको छ ।

दिनदिनै गोप्य बैठक र भेला गर्दै आएको सिटौला समूहले देउवा–पौडेलको गठबन्धनलाई कसरी भत्काउने भनेर परामर्श गर्ने गरेका छन् । स्रोतका अनुसार सिंह र केसीले सिटौलालाई नेता मानेर पार्टी कब्जा गर्ने योजना बनाएका हुन् ।

नेपाल ट्रेड युनियन कांग्रेसमा कब्जा जमाएपछि उत्साहित बनेका सिटौलाले आफ्नो गुटलाई बलियो बनाउने अभियान चलाएका छन् । उनले सकेसम्म नेता कार्यकर्तालाई आफूतिर आकर्षित गर्ने गरेर कार्यक्रमहरू गरिरहेका छन् ।

सिटौलाले नेविसंघभित्र पनि भाँडभैलो मच्चाएको आरोप छ । महामन्त्री कुन्दन काफ्ले समूहलाई उचालेर नेता सिटौलाले नैनसिंह महरलाई आच्छुआच्छु बनाएका छन् ।

महरले पनि नेविसंघले सही बाटोमा नहिँडाएपछि आलोचना हुँदै आएको छ । काफ्लेले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेविसंघको अधिवेशन घोषणा गर्नुका साथै समानान्तर संगठन चलाउने योजना बनाएका छन् ।

उता, नेपाली कांग्रेसले एक साताभित्रै विधान मस्यौदा समिति र अनुशासन समिति गठन गर्ने तयारी गरेको छ । सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले विभिन्न समिति गठनमा सहमति गरेको स्रोतको भनाइ छ ।

देउवा–पौडेलले सहमति गरेर पार्टीमा भागबण्डासहित अगाडि बढ्ने तयारी गरेपछि आत्तिएका सिटौला समूहले आफ्नो उपस्थितिलाई बलियो बनाउन खोजेको हो ।

यसैबीच, कम्युनिस्ट सरकारको कामकारबाहीबाट असन्तुष्ट कांग्रेसले सातवटै प्रदेशमा सरकारको स्वेच्छाचारी कदमविरुद्ध चेतनामूलक कार्यक्रम गर्ने निर्णय पनि गरेको छ । कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले सातवटै प्रदेशमा कार्यक्रम गर्न लागेको जानकारी दिएका छन् ।

प्रदेशमा जिल्ला सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिको स्तरमा वा अझै ठूलो स्तरमा कार्यक्रम, प्रशिक्षणसहितका कस्ता कार्यक्रम गर्ने भन्ने टुंगो लागिनसकेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । सरकारका कदम गलत हुँदै जाँदा यिनीहरूलाई जनताको तहमा प्रस्ट पार्ने स्वरूपका कार्यक्रम ल्याउने जानकारी उनले दिए ।

विजयकुमार गच्छदारको पार्टीलाई छिटै कांग्रेसमा समायोजन गर्ने तयारी पनि भएको छ । तत्कालीन फोरम लोकतान्त्रिकका साधारण सदस्य, क्रियाशील सदस्यलाई सोही हैसियतमा मिलाउने र विधान संशोधन गरेर केन्द्रमा पनि मिलाउने भएको छ ।

पदाधिकारी र केन्द्रीय सदस्य थप गर्न विधान संशोधन गर्नुपर्ने हुन्छ । यसका लागि बाधाअड्काउ फुकाउको माध्यम वा विधान संशोधन समितिले महासमितिमा प्रस्तुत गर्ने प्रतिवेदनमध्ये एक विकल्पमा छिट्टै निर्णय लिइनेछ ।

Published : Thursday, 2018 July 12, 11:47 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया