गोल्डेन ग्लोबको हकदार सुबासिक

मस्को । ड्यानिजेल सुबासिक रसियामा जारी विश्वकपमा उत्कृष्ट गोलकिपरका रुपमा उदाएका छन् ।

क्रोएसियाली टोलीलार्इ सेमिफाइनलसम्म पुर्‍याउन सुबासिकले महत्वपूर्ण भूमिका निभाएका छन् । समूह चरणमा अर्जेन्टिनालार्इ पराजित गर्दा उनले विश्वकै उत्कृष्ट फुटबलर लियोनल मेसीलार्इ रोक्न सफल भएका थिए ।

आयोजक रसियालार्इ क्वाटरफाइनल खेलमा पराजित गर्ने क्रममा उनले पेनाल्टी सुटआउटमा रसियाका फेडोर स्मोलोभको प्रहार रोकेका थिए ।

प्रिक्वाटरफाइनल खेलमा पनि उनले डेनमार्कका ३ खेलाडी (साइमन जाएर, लास सोएन र निकोलाइ जर्गेनसन)ले प्रहार गरेको पेनाल्टी रोक्न सफल भएका थिए ।

सुबासिसको उत्कृष्ट प्रदर्शनले गर्दा सन् १९९० मा अर्जेन्टिनापछि एउटै विश्वकपमा दुई वटा पेनाल्टी सुटआउटमा विजयी हुने क्रोएसिया पहिलो टिम बन्न सफल भयो ।

१९९८ विश्वकपमा पहिलोपटक सहभागी हुँदा नै तेस्रो भएको क्रोएसिया यसपाली फाइनलमा पुग्दै नयाँ इतिहास बनाउने होडमा रहेको छ । त्यसका लागि ड्यानिजेल सुबासिकले ह्यारी केनमो नेतृत्वमा रहेको इंग्ल्यान्ड टोलीमा गोलहरु रोक्न सक्नु पर्छ ।

रसियामा प्रशंसनिय गोलकिपिङ गरेका ड्यानिजेल सुबासिक उत्कृष्ट गोलकिपरलार्इ प्रदान गरिने गोल्डेन ग्लोबका प्रमुख दाबेदार समेत हुन् । त्यसैले पनि रसियामा गोल्डेन बुटका प्रमुख दाबेदार इंग्ल्यान्डका ह्यारी केनको प्रहार रोम्न उनी माथि चुनौती रहनेछ ।

क्वाटरफाइनल खेलमा रसियासँगको खेलमा शाररिक रुपमा केही असहज महसुस गरेका सुबासिकको ठाउँमा अतिरिक्त समयमा वैकल्पिक गोलकिपरलार्इ ल्याइने धेरैले अनुमान गरेका थिए । सुबासिस भने अन्तिम समयसम्म मैदानमा संघर्षरत थिए । एजेन्सी

Published : Wednesday, 2018 July 11, 7:24 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया