राजपाका ‘एङ्ग्रीम्यान’लाई कसले दियो टक्कर ?

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालको संसदीय दलको नेता चयनका विषयमा सहमति खोज्ने प्रयास भएको छ ।

काठमाडौंमा बसेको राजपाको बैठकमा दलको नेताका साथै महाधिवेशनका विषयमा गम्भीर छलफल भएको थियो । प्रतिनिधि सभा संसदीय दलको नेता चयनमा आकांक्षीहरू अरु पनि भएका कारण सहमति हुन नसकेको हो ।

स्रोतका अनुसार दलको नेतामा अध्यक्ष महन्थ ठाकुर हुन चाहन्छन् । तर, ठाकुरलाई सर्वसम्मत दलको नेता हुने बाटोमा अर्का नेता राजेन्द्र महतो बाधक बनेका छन् ।

ठाकुरलाई नै सर्वसम्मत नेता बन्न दिनुपर्छ भन्ने पनि छन् । अर्का नेता महतो भने नेता चयनमा निर्वाचन हुनुपर्ने अडानमा छन् । महतोले दलको नेता पाउने अवस्था सिर्जना भयो भने अध्यक्षमण्डलका सदस्यहरू एक ठाउँमा आएर ठाकुरलाई जिताउने एकजना पदाधिकारीले बताए ।

राष्ट्रिय सभा र प्रतिनिधिसभामा छुट्टाछुट्टै संसदीय दल हुने व्यवस्था छ । दुवै सदनका सांसदले आफ्नो सदनको मात्रै नेता चयनका लागि मतदान गर्न पाउँछन् ।

राष्ट्रिय सभामा राजपाका दुई सांसद छन् । दुईमध्ये एक महन्थ ठाकुर र अर्का महेन्द्रराय यादवनिकट सांसद हुन् । उनीहरू राजेन्द्र महतोलाई दलको नेता दिने पक्षमा छैनन् ।

प्रतिनिधिसभाका १७ सांसदमध्ये अध्यक्ष ठाकुरको पक्षमा ८ र महतोको पक्षमा ९ जना सांसद रहेको एक नेताले दाबी गरे । नेता महतोका पक्षमा अंकगणितले साथ दिए पनि निर्वाचन भयो भने संसदीय दलको नेतामा अध्यक्ष ठाकुर नै विजयी हुने राजपा अध्यक्षमण्डलका एकजना सदस्यले नाम उल्लेख नगर्ने सर्तमा जानकारी दिए । ‘अंक गणित जे भए पनि निर्वाचन भयो भने महन्थ ठाकुरीजीले नै जित्नु हुन्छ’, ती नेताले भने ।

नेता महतो पनि सकेसम्म दलको नेता आफ्नो हातबाट गुम्न नदिने पक्षमा छन् । पार्टीलाई ठाकुरले चलाउनु पर्ने तथा संसदीय दलमा अरुलाई छाड्नुपर्ने महतो पक्षको अडान छ ।

राजपामा ठाकुरलाई धेरै नबोल्ने एङ्ग्री म्यानका रुपमा नेताहरूले पहिचान दिएका छन् । महतो जथाभावी बोल्छन् तर, कार्यकर्ता संरक्षणमा अब्बल मानिन्छन् ।

Published : Wednesday, 2018 July 11, 10:52 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया