कम्युनिस्ट सरकारका करोडपति मन्त्रीको अचम्मको चाला

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सिरहाको मिर्चैयामा आफन्तलाई मनपरि गर्न नदिएको झोँकमा इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी दीपक खड्काको सुरुवा गरिदिएको घटना सार्वजनिक भएको छ ।

मन्त्री यादवका आफन्तले मिर्चैयाको बीच बजारमा डिजे बजाएर अश्लीलता प्रदर्शन गरेपछि डिएसपी खड्काले हस्तक्षेप गरेर कारबाही गरेका थिए । मन्त्री यादवका आफन्तविरुद्ध स्थानीयले उजुरी दिएपछि प्रहरीले डिजेलाई नियन्त्रणमा लिएर कारबाही चलाएको थियो ।

त्यस क्रममा मन्त्री यादवका आफन्तहरूले आपूर्तिमन्त्रीको धम्की दिँदै डिएसपी खड्कालाई सुरुवा गर्ने चेतावनी दिएका थिए । डिजे प्रहरीले नियन्त्रणमा लिएपछि छुटाउन पनि मन्त्री यादव आफै प्रहरी कार्यालय पुगेका थिए ।

मन्त्री यादवले डिएसपी खड्कालाई गालीगलौज गर्नुका साथै ‘मेरा मान्छेलाई कारबाही गर्ने तिमी जस्ता डिएसपीलाई यहाँ बस्ने अधिकार छैन । सुरुवा गरिदिन्छु’ भन्दै बाहिरिएको प्रत्यक्षदर्शीको भनाइ छ । जवाफमा डिएसपी खड्काले स्थानीयको उजुरीपछि आफूले शान्ति सुरक्षा बनाउन काम गरेको बताएका थिए । तर, मन्त्री यादवले डिएसपी खड्काको कुरै सुनेन् एकोहोर गाली मात्रै गरेको स्रोतको भनाइ छ ।

पत्नीको नाममा करोडौंको सम्पत्ति राखेर चर्चामा आएका मन्त्री यादवले शान्ति सुरक्षा बनाउन काम गर्ने प्रहरीको मनोवल गिराउने गरेर मिर्चैयाका प्रहरी प्रमुख डिएसपी खड्कालाई कारबाही गरेर सुरुवा गरिदिएपछि सिरहाका अधिकांश प्रहरीको मनोवल गिरेको छ ।

आपूर्तिमन्त्री यादवको चर्तिकलाको मिर्चैयाका स्थानीयले पनि मन पराएका छैनन् । डिएसपी खड्कको दोष थियो कि थिएन केही नबुझेर गृहमन्त्री रामबहादुर थापा र आइजीपी सर्वेन्द्र खनालले सुरुवा गरेकोमा धेरै सिरहाका प्रहरीले चित्त दुखाएका छन् ।

मन्त्री यादवले डिएसपी खड्कालाई गरिएको गाली उदृत गर्दै स्रोतले भन्यो, ‘मेरा आफन्तहरूलाई डिजे बजाउन रोक लगाउने तिमी को हो ? मेरो नाम लिएपछि तिमी जस्तो नाथे डिएसपीले छोड्नु पर्दैन ? म यस ठाउँको जनप्रतिनिधि हुँ । गृहमन्त्रीलाई भनेर तिम्रो सरुवा गरिदिन्छु ।’ नभन्दै सरुवा भएर मिर्चैया पुगेको एक महिना नपुग्दै डिएसपी खड्काको सरुवा भएको छ ।

हुन त मन्त्री यादवले विभिन्न अपराधमा संलग्नहरूलाई छाड्न पनि डिएसपी खड्कालाई दवाव दिँदै आएका थिए । केही दिन अगाडिको सामान्य झैझगडाको विषयमा पनि मन्त्री यादवले दवाव दिएर झठ्ठा मुद्दा दर्ता गराउन खोजेका थिए । मन्त्री यादवको दवाव भएपनि गलत विषयलाई प्रहरीले अगाडि बढाउन नचाहेपछि उनी रिसाएका थिए ।

सिरहामा नेकपाका कार्यकर्ताहरूले मन्त्री यादवको आडमा दादागिरि चलाउँदै आएका छन् । नेकपाका कार्यकर्ताको दादागिरिबाट स्थानीय सर्वसाधारणहरू आतंकित हुन पुगेका छन् ।

आपूर्तिमन्त्री यादवले डिएसपी खड्काको सरुवा गरिदिएपछि स्थानीयले आक्रोश व्यक्त गरेका छन् । नाम उल्लेख नगर्ने सर्तमा एकजना स्थानीयले भने, ‘मातृका यादव मन्त्री भएपछि उहाँको अगाडि पछाडि हिँड्नेहरूको आतंक मच्चिएको छ । उनीहरूलाई कसैले केही भन्नु हुँदैन । कुटपिट गर्नुका साथै झुठ्ठामुद्धा लगाएर दुःख दिन्छन् ।’

Published : Monday, 2018 July 9, 10:35 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया