आइजीपीले सातो लिएपछि एसपी रानाले पक्राउ गरे गुण्डाहरू

पोखरा । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको चेतावनीपछि कास्की प्रहरी प्रमुख एसपी ओम रानाले ‘गुन्डा पक्राउ’ अभियान चलाएका छन् । अभियानकै क्रममा प्रहरीले ‘एलजी’ समूहका धेरै गुण्डाहरू पक्राउ गरेको उच्च स्रोतले जनाएको छ ।

केही दिन अगाडि गुन्डा नाइके ललित गुरुङको हाइलक्स गाडीमा चढेर लेकसाइडका रेष्टुरेन्ट र डिस्कोमा गएको तस्बिरसहितको समाचार आएपछि एसपी रानाको आलोचना भएको थियो । त्यति मात्रै होइन एसपी रानाको सो चर्तिकलाको उजुरी महानिरीक्षकको सचिवालयमा पुगेको थियो ।

आइजीपी खनालले एसपी रानालाई पदीय आचरणमा सुधार ल्याएर काम गर्न कडा निर्देशन दिएका थिए । केही दिन अगाडिको पत्रकार सम्मेलनमा आइजीपी खनाललाई पत्रकारहरूले एसपी रानाको विवादास्पद गतिविधिका बारेमा प्रश्न सोधेका थिए । जवाफमा आइजीपी खनालले ‘उहाँको छविमा सुधार भएन भने कारबाही हुन्छ’ भनेर जवाफ दिएका थिए ।

खनालको निर्देशनपछि आत्तिएका एसपी रानाले शुक्रबार राति पोखराको लेकसाइडका रेष्टुरेण्ट र डिस्को क्लवहरूमा छापा मारेर एक दर्जन गुण्डा नाइके र टोले गुण्डाहरूलाई पक्राउ गरेका छन् । रानाले ३० जना गुण्डा नाइके र टोले गुण्डाहरूको सूची तयार पारेका छन् ।

पक्राउ पर्नेमा गुण्डा नाइके ललित गुरुङ,राहुल गुरुङ, चन्द्र गुरुङ, महेश छोटा, सुमन श्रेष्ठसहितका रहेका छन् ।

गुण्डा नाइके चन्द्र गुरुङले लेकसाइडमा ‘भोडो’ नामक डिस्को क्लव सञ्चालन गर्दै आएका छन् । उनले क्लवमा युवा युवतीलाई महँगोमा मदिरा बिक्री गर्ने गरेको आरोप छ ।

गुण्डा नाइके लक्ष्मण छन्त्याल भने प्रहरीलाई छक्याएर फरार हुन सफल भएका छन् । छन्त्याले पोखराको केएफसी रेष्टुरेण्टबाट हप्ता असुलेको उजुरी प्रहरीमा परेको छ ।

सोही उजुरीका आधारमा छन्त्याललाई प्रहरीले पक्राउ गर्न गएको थियो । छन्त्यालले नै कास्कीमा सुरुवा भएर पुगेका एसपी रानालाई स्कर्टिङ गरेका थिए । त्यसपछि रानाको आलोचना भएको थियो ।

सुमन श्रेष्ठले लेखनाथदेखि पोखरासम्मका हाउजिङ र जग्गाा प्लटिङमा हप्ता उठाउँदै आएका छन् । श्रेष्ठसँग स्थानीय व्यापारीहरू आजित छन् ।

एसपी रानाले आफैलाई सहयोग गरेका ललित गुरुङ र लक्ष्मण छन्त्याललाई नै पक्राउ गर्न थालेपछि कास्की जिल्लामा शान्ति सुरक्षामा सुधार हुन्छ कि भनेर धेरैले अनुमान गरेका छन् ।

हुन त पोखराका गुण्डा नाइकेहरू पक्राउ पर्नेवित्तिकै छाड्न रानालाई दवाव पनि परेको छ । एसपी रानाले मुद्धा कमजोर बनाएर गुण्डा नाइकेहरूलाई छाड्छन् कि कारबाही गर्छन् हेर्न बाँकी छ ।

Published : Saturday, 2018 July 7, 2:55 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया