मौरीको गोलामा हात हाल्यो सरकारले: कांग्रेस

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले केपी ओली नेतृत्वको कम्युनिस्ट सरकार समयमै सच्चिन चेतावनी दिएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार पार्टी मुख्यालय सानेपामा आकस्मिक रुपमा पत्रकार सम्मेलन आयोजना गरेर ओली सरकारलाई सच्चिन अपील गरेका हुन् । ‘सरकार समयमै सच्चियोस् अपील गर्नु हाम्रो कर्तव्य हो’, चेतावनी दिँदै शर्माले भनेका छन्, ‘सच्चिन सकेन भने चौतर्फी दबाबको समना गर्नु पर्ने चेतावनी दिन चाहन्छौं ।’

ओलीको कम्युनिस्ट सरकारले बिहीबार राति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले गरेका निर्णयहरूलाई उल्ट्याइदिएपछि कांग्रेसले पत्रकार सम्मेलन गरेर विधिको शासन विपरितका निर्णय भन्दै आक्रोश जनाएको हो । ओली सरकारले मौरीको गोला रुपी कांग्रेसमाथि आक्राण गरेको उनले बताए ।

‘असार २० गते वर्तमान सरकारले गरेको दुई अलग निर्णयले सरकार स्वच्छेचारी ढंगले अघि बढ्न लागेको ठहर हामीले गरेका छौं’, उनले भनेका छन्, ‘अघिल्लो सरकारले गरेको निर्णय संसदबाट निर्वाचित सरकारकै निर्णय थियो । आचारसंहिता जारी भएको समयमा भएका निर्णयहरू पनि निर्वाचन आयोगबाट सहमति लिएर सम्वन्धित वोर्ड, संस्थानमा परिषद्को प्रक्रिया बमोजिम भएका नियुक्तिहरू थिए ।’

ओली सरकारको कठोर रुपमा आलोचना गरेका प्रवक्ता शर्माले भनेका छन्, ‘प्रश्न व्यक्तिको होइन, विधीको हो । प्रश्न नियुक्ति या नियुक्ति वदरको होइन, प्रश्न यसबारेको स्थापित कानूनी प्रक्रियाको हो । यो सरकारले यस प्रकरणमा कानून उल्लघंन गरेको छ र निर्णय बदनियतपूर्ण छ ।’

‘यो निर्णयले एकातर्फ विधिलाई उल्लघंन गरेको छ भने अर्कोतर्फ यो निर्णय मार्फत सरकारले द्वन्द्वका लागि प्रतिपक्षलाई खुला आमन्त्रण गरेको ठहर हामीले गरेका छौं’, कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न भइ सहज राजनैतिक अवस्था बनेका वेला हार्दिक ढंगले मुलुकलाई अघि बढाउनु प्रधानमन्त्रीको कर्तव्य थियो’, शर्माले भनेका छन्, ‘तर त्यस विपरितको बोली र व्यवहार प्रस्तुत हुन थालेपछि त्यसलाई आवश्यक प्रतिवाद गर्दै अघि बढ्नु हामीले हाम्रो कर्तव्यका रुपमा बुझेका छौं ।’

कांग्रेसले केही दिनअघि सरकारले अगाडि बढाएको चिकित्सा शिक्षासम्वन्धि प्रतिस्थापन विधेयक चिकित्सा शिक्षा सुधार र नागरिक हित विपरितको षडयन्त्रका रुपमा ठहर गर्दै त्यसका विरुद्धमा उभिएको जनाएको छ ।

क्रमशः बढ्दो स्वेच्छाचारिताविरुद्ध प्रदर्शन गर्न रोक लगाउने उद्देश्यले माइतीघर मण्डलासम्म लगाइएको निषेधाज्ञालाई कांग्रेसले निरंकुशतातर्फ बढ्न सहज हुने सरकारको मिठो भ्रमका रुपमा लिएको उल्लेख गरेको छ । ‘निषेधाज्ञा फिर्ता नलिए निरन्तर त्यसलाई उल्लघंन गरिने प्रष्टोक्ति दिन चाहन्छौं’, प्रवक्ता शर्माले भनेका छन् ।

कांग्रेसले संविधानको धारा ९१ को उपधारा २ बमोजिम सभामुख र उपसभामुख फरक–फरक दलबाट हुनु पर्ने पुरानो अडानलाई पनि दोहो¥याएको छ । ‘संविधानको भावना र मर्म विपरितको व्यवहारलाई तत्काल सच्याउने प्रक्रिया प्रारम्भ नगरिए संसदमा थप दबाब झेल्नुपर्ने चेतावनी दिन चाहन्छौं’, कांग्रेसले भनेका छ ।

‘सञ्चार माध्यमहरुमा वढ्दो हस्तक्षेप, ढुंगेल प्रकरणमार्फत न्यायलयको अपमान, संसदमा हलुका जवाफ, सडक प्रदर्शनमा रोक जस्ता व्यवहारबाट सरकारको ‘मुखमा लोकतन्त्रको राम–राम बगलिमा स्टालिनवादको धङधङगी हामीले महसुस गरिरहेका छौं’, कांग्रेसको विज्ञप्तिमा उल्लेख छ ।

Published : Thursday, 2018 July 5, 6:53 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया