यी हुन् व्यवसायीलाई भेदभाव गर्ने अध्यक्ष गुरुङ, मन्त्रीका पुच्छर

काठमाडौं । सरकारले वैदेशिक रोजगार व्यवसायीहरूलाई चरम दुःख दिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । सरकारले यसरी दुःख दिँदा पनि व्यवसायीहरूको बचाउमा एउटा कदम समेत नउठाएको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चर्को आलोचना भएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले व्यवसायीको हितमा कुनै पनि काम गर्न नसेको भन्दै आलोचना सुरु भएको हो ।

श्रममन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीको क्षेत्रमा रहेको सिण्डिकेट अन्त्य गर्ने भन्दै व्यवसायीहरूलाई पक्राउ गर्नुका साथै कडाइ गरेपछि समर्थन र विरोध दुबै भइरहेको छ । श्रममन्त्री विष्टको कदमलाई संघका अध्यक्ष गुरुङले समर्थन गर्दै व्यवसायीको पक्षमा आवाज नउठाएको आरोप छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवार्तमान अध्यक्ष विमल ढकालले संघको नेतृत्व व्यवसायीले दुःख पाउँदा समेत मुकदर्शक भएर बसेको आरोप लगाएका छन् । ‘वैदेशिक रोजगार व्यावसायीमाथि चौतर्फी आक्रमण भैराखेको समयमा सम्पूर्ण व्यावसायीहरूको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघको भूमिका शून्य छ’, उनले जारी गरेको वक्तव्यमा भनिएको छ ।

‘श्रम मन्त्रालयले मलेसिया रोजगारीका सिण्डिकेट बन्द गर्ने बहानामा भिसा लागेर गन्तव्यतिर जान तयार युवाहरूको अन्तिम स्वीकृति रोकेको छ’, निवर्तमान अध्यक्ष ढकालले भनेका छन्, ‘संघ यसमा मौन छ । ऐेन नियम विपरित व्यवसायीमाथि प्रहरी कारबाही हुँदा संघ मुकदर्शक भएर बसेको छ ।’

सरकारले व्यावसायीलाई धान्नै नसक्ने गरी धरौटी वृद्धि गर्न लागेको भन्दै संघले त्यसलाई मौन समर्थन गरेर बसेको आरोप लगाएका छन् । ‘साउदी दूतावासमा आई.डि.कार्ड नवीकरण नभएर व्यवसायी समस्यामा पर्दा संघको नेतृत्व किन बोल्दैन ?’, ढकालले भनेका छन्, ‘सिन्डिकेट बन्द गराउने नाममा राजनैतिक भेदभाव गरिएको छ । संघ त्यसलाई समर्थन गरेर बसेको छ ।’

सरकार सुधारका नाममा व्यवसाय नै बन्द गराएर लाखौं बेरोजगार युवाहरूको भविष्यमाथि खेलवाड गरिरहेको आरोप लगाइएको छ । मागपत्र प्रमाणीकरणका नाममा अनेकौ झमेला दिइराखिएको भन्दै ढकालले वैदेशिक रोजगार व्यवसायी संघ सहजीकरणको लागि केही नगरेको आरोप लगाएका छन् ।

‘व्यवसायीको हकहितमा केही गर्न नसक्ने अनि कसैले आलोचना ग-यो भने संघबाट निलम्बन गर्छुभन्दै संघका अध्यक्ष हिटलरी शैली देखाउँदै छन् । मानौ वैदेशिक रोजगार व्यवसायी संघ अंशबण्डामा प्राप्त पैत्रिक सम्पत्ति हो र ? मनलागी जे पनि गर्न पाइन्छ ?’

यस्तो त्रासदीपूर्ण अवस्थामा चौतर्फी आक्रमणका बाबजुद व्यवसाय गर्नुपर्ने आवस्यकता व्यवसायीको निवर्तमान अध्यक्ष ढकालले संघ एउटा सानो समूहको हकहितका लागि मात्र तल्लिन भई व्यवसायीलाई व्यवसाय बिमुख बनाउने दिशामा अग्रसर रहेको बताएका छन् ।

तत्कालीन एमाले निकट मानिने अध्यक्ष गुरुङले मन्त्री विष्टलाई साथ दिएर व्यवसायीहरूमाथि अन्याय र भेदवभा गरेको आरोप छ ।

‘तसर्थ सरकारी रवैया र संघको गतिविधी हेर्दा जुनसुकै बेला पनि व्यवसायीमाथि अझ अफ्ट्यारो स्थितिको सिर्जना हुन सक्ने भएकोले आ–आफ्नो तर्फबाट चनाखो भै आ–आफ्ना समस्या आफ्नै व्यक्तिगत प्रयासमा समाधान गर्ने दिशामा अगाडि बढन सम्पूर्ण व्यवसायीहरूलाइ हार्दिक अनुरोध गर्दछु’, ढकालले आफ्नो वक्तव्यमा भनेका छन् ।

Published : Tuesday, 2018 June 26, 11:51 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया