यी नेताको छ दिन वित्यो बिहे र भोजमै

काठमाडौं । नेपाल कम्यनिस्ट पार्टी (नेकपा)का कार्यबाहक अध्यक्ष माधवकुमार नेपालले छ दिनमा पार्टीको बैठकदेखि विवाहका कार्यक्रमहरूमा सहभागी भएर विताएका छन् ।

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी ओली चीन जानुभन्दा अगाडि नेता नेपाललाई पार्टीको कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएका थिए । जिम्मेवारी पाउनेवित्तिकै नेता नेपालले दुईवटा पार्टी कार्यालय निरीक्षणदेखि भेटघाटका कार्यक्रम गरेका हुन् ।

नेता नेपालले तत्कालीन एमालेमा ८ वर्ष महासचिवको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि उनलाई पार्टीको नेतृत्व र कार्यबाहकको अवसर जुरेको थिएन ।

एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा तेस्रो वरीयतामा रहेका नेता नेपाललाई पहिलो पटक छ दिन कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हाल्ने मौका मिलेको हो ।

कार्यबाहक अध्यक्ष पाउनेवित्तिकै नेता नेपालले धुम्बाराही र पेरिसडाँडास्थित कार्यालयमा पार्टीको आन्तरिक बैठक राखेर राष्ट्रिय–अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिबारे औपचारिक/अनौपचारिक छलफल मात्र गरेका थिए ।

संसद बैठक, निर्वाचन क्षेत्रको औपचारिक कार्यक्रमहरूमा पनि नेता नेपाल सकृय भए । यो अवधिमा उनी विवाह–ब्रतबन्ध जस्ता सामाजिक सांस्कृतिक कर्महरूमा पनि सहभागी रहेको उनको निजी सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

पहिलो दिन

कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेको पहिलो दिन नेता नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा चीन भ्रमणका लागि विदा गरे । त्यसलगत्तै स्वर्गीय डा.उपेन्द्र देवकोटाको पार्थिक शरीरमा आर्यघाटमा पुगेर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरे । त्यहाँबाट सिधै पार्टी केन्द्रीय कार्यालय, धुम्बाराही पुगेर कार्यालय निरीक्षण गर्नुका साथै महासचिव विष्णु पौडेल, कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ तथा स्थायी कमिटी सदस्य भीम रावलसँग विभिन्न विषयमा ३ घण्टा छलफल गरे । बेलुकी कोटेश्वरका छिमेकीको विवाहको कार्यक्रममा पनि सहभागी भएको प्रेस नोटमा उल्लेख छ ।

दोस्रो दिन

बिहान १० बजे महासचिव विष्णु पौडेलसहित पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडा पुगेका कार्यवाहक अध्यक्ष नेपालले कार्यालयको निरीक्षण गरेका थिए । त्यस क्रममा उनले कार्यालय सचिव प्रल्हाद बुढाथोकी, प्रकाश पोखरेल, युवराज चौलागाइँ, विदेश विभाग सदस्य लक्ष्मण पन्त एवम् केन्द्रीय नेताहरू भानुभक्त ढकाल, नेत्र पन्थीलगायतसँग सामूहिक फोटो सेसन गरे ।

त्यसलगत्तै महासचिव पौडेलसगँ छुट्टै छलफल गरेका कार्यबाहक अध्यक्ष नेपालले दिउँसो पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग पनि छलफल गरेका थिए ।

तेस्रो दिन

निवासमा समय मागेर भेट्न चाहने सबैलाई नेपालले पार्टी कार्यालय, पेरिसडाँडामा बिहानैदेखि बोलाएर भेटघाट गरेका थिए । त्यस दिन विविध क्षेत्रका डेलिगेशनहरू तथा व्यक्तिगतसहित कार्यवाहक अध्यक्ष नेपालले झण्डै १५० जनासँग भेटघाट गरेको स्वकीय सचिव मोहन गौतमद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

सोही दिन प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत किम योङ हकले पेरिसडाँडा पुगेर नेपालसँग भेटवार्ता गर्नुका साथै कोरियाली प्रायद्विपमा शान्ति स्थापना गर्न खेलेको भूमिकाको उच्च प्रशंसा गरेका थिए । बेलुकी ५ बजे पेरिसडाँडामै सचिवालयको अनौपचारिक बैठक राखेका कार्यवाहक अध्यक्ष नेपालले प्रधानमन्त्रीको चीन भ्रमणका उपलब्धीहरू, अन्तर्राष्ट्रिय प्रभाव तथा नेपालको आन्तरिक तयारी लगायतका सन्दर्भमा पनि छलफल गरेका थिए ।

चौथो दिन

बिहानै कोटेश्वरस्थित निवासमा ठूलो संख्याका नेता कार्यकताहरूसँग भेटेघाट सकेर कार्यवाहक अध्यक्ष नेपाल दिउँसो दुई पटक बसेको संसद बैठकमा सहभागी भए । त्यसलगत्तै उनी साँझ झण्डै एक दर्जन नेता कार्यकर्ताहरूको विवाह तथा ब्रतबन्धमा सहभागी भएका थिए ।

पाँचौ दिन

विहानै साविक गोठाटार गाविसमा स्थानीय कार्यकर्ताको श्रद्धाञ्जलि सभामा सहभागी भएका कार्यवाहक अध्यक्ष नेपालले प्रमुख अतिथिका रुपमा बिहान ११ बजे शंखरापुर नगरपालिकाको नगरसभा उद्घाटन गरे । त्यसपछि आर्यघाटमा पुगेर केन्द्रीय सदस्य डा. वंशिधर मिश्रका स्वर्गीय पिताप्रति श्रद्धाञ्जलि एवम् परिवारजनमा समवेदना दिएर नेपालले केन्द्रीय सदस्य राजेन्द्र गौतम छोरीको विवाहमा सहभागी भएर शुभकामना दिए । साँझ उनले केही विदेशी पाहुनाहरूसँग समेत भेटघाट गरेका छन् ।

छैठौं दिन

बिहान निवासमा केही महत्वपूर्ण भेटघाटपछि कार्यवाहक अध्यक्ष नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई स्वागत अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । त्यसलगत्तै उनी सिधै कागेश्वरी मनोहरा नगरपालिकाको नगरसभा उद्घाटनका लागि थली प्रस्थान गरेकाे स्वकीय सचिव गौतमले जनाएका छन् ।

Published : Sunday, 2018 June 24, 11:15 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया