यी हुन् अखिल क्रान्तिकारी ध्वस्त बनाउन हिँडेका ‘भगौडा’

काठमाडौं । तत्कालीन माओवादी केन्द्र निकटको अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङको चरित्र हत्या गर्न एउटा गिरोह सक्रिय भएको छ ।

उछृङ्खल गतिविधि गर्दै आएका दीपक थापा नेतृत्वको समूह अध्यक्ष तामाङको चरित्र हत्या गरेर आत्मसन्तुष्टिमा लागेको आरोप लागेको छ ।

अखिल क्रान्तिकारीका एक नेताका अनुसार थापासहितको समूह अध्यक्ष तामाङलाई उकास्ने, भड्काउने, सामाजिक सञ्जालमा रिस उठ्ने टिकाटिप्पणी गर्ने जस्ता गतिविधि गर्दै आएको छ ।

अखिल क्रान्तिकारी पूर्व केन्द्रीय सदस्य समेत रहेका थापालाई संगठनभित्र भगौडा र अवसरवादी नेताका रुपमा परिचित छन् ।

नेकपा (एमाले)सँग पार्टी एकीकरण हुनुभन्दा पहिलाको टेलिफोन सम्वादको अडियो बाहिर ल्याएर थापा समूहले तामाङको बद्नाम गरेको अखिल क्रान्तिकारीले जनाएको छ ।

अडियोमा अध्यक्ष तामाङले थापालाई सजाय दिने चेतावनी दिएका छन् । थापाले तामाङको फेसबुक स्ट्याटसमा अनावश्यक कमेन्ट गरेर हैरान बनाएपछि चेतावनीयुक्त शैलीमा अभिव्यक्ति दिएको अडियोमा सुन्न सकिन्छ ।

कुनै बेला नेपाल ल क्याम्पसमा अखिल क्रान्तिकारीको इकाई अध्यक्ष रहेका थापाका अराजक क्रियाकलाप भएपछि संगठनको साधारण सदस्य समेत नरहने गरेर कारबाही गरिएको एक नेताले बताए । ‘कारबाहीमा परेको झोँकमा दीपक थापाले हाम्रो अध्यक्ष रञ्जित तामाङको चरित्र हत्या गर्न सक्रिय हुनुभएको छ’, अखिल क्रान्तिकारीका एकजना नेताले भने, ‘यस्ता गतिविधिको पछाडि लाग्नु हुँदैन ।’

अखिल क्रान्तिकारीको कीर्तिपुरमा सम्पन्न २१औँ महाधिवेशनमा थापाले अनिल शर्मा समूहलाई सहयोग गरेका थिए । तामाङलाई हराउन शर्माको समूहलाई थापाले खुलेरै प्रचार प्रसार गरेका थिए ।

थापाका संगठन विपरितका क्रियाकलापबाट तामाङ समूहले असन्तुष्ट थियो । त्यति मात्रै होइन अध्यक्षमा निर्वाचित भएपछि पनि तामाङले थापालाई सुध्रिन पटक–पटक चेतावनी दिएका थिए । तर, अराजक शैलीका थापाले आफूमा कुनै बदलाव ल्याएनन् । बरु पछिल्लो समय अध्यक्ष तामाङको बद्नाम र चरित्र हत्या गर्न सक्रिय भएका छन् ।

Published : Friday, 2018 June 22, 2:46 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया