देउवाले भन्दै आएको अधिनायकवाद मन्त्रीद्वारा पुष्टि, नाङ्गियो कम्युनिस्ट सरकार

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचन अगाडि भन्दै आएको अधिनायकवादको शुरुवात कम्युनिस्ट सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले गरेका छन् ।

निर्वाचन अगाडि कांग्रेस सभापति देउवाले कम्युनिस्टहरूले जिते भने देशमा अधिनायकवाद आउने, जनताले बोल्न र रुन नपाउने भनेर अभिव्यक्ति दिएका थिए । त्यस बेला देउवाको भनाइलाई धेरैले बङ्ग्याएर उडाए । तर, अहिले देउवाले त्यति बेला बोलेको कुरालाई कम्युनिस्ट सरकारका प्रवक्ताले पुष्टि गरिदिएका छन् ।

कम्युनिस्ट सरकारले आफ्नो अधिनायकवाद लाद्न स्वतन्त्र प्रेसमाथि आक्रमण शुरुवात गरेको छ । सूचना तथा सञ्चारमन्त्री बास्कोटाले ठाडो आदेश दिएर टेलिभिजन कार्यक्रम बन्द गराइदिएका छन् ।

नेपाल टेलिभिजनमा विगत १२ वर्षदेखि प्रस्तोता राजु थापाले सञ्चालन गर्दै आएको कार्यक्रम ‘सिधा प्रश्न’ कम्युनिस्ट सरकारका सञ्चार तथा सूचना प्रविधीमन्त्री बास्कोटाको प्रत्यक्ष निर्देशनमा बन्द भएको हो । नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनले विज्ञप्ति जारी गरेर घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

सरकार नियन्त्रित नेपाल टेलिभिजनमा केही लोकप्रिय कार्यक्रममध्ये रहेको थापाको ‘सिधा प्रश्न’ प्रत्येक शनिवार राति ८ः४५ मा प्रसारण हुँदै आएको थियो

नेपाल टेलिभिजनका समाचार प्रमुख मनहरि थापाले प्रस्तोता राजु थापालाई ‘सिधा प्रश्न’ कार्यक्रम अब प्रसारण नुहने जानकारी मंगलवार गराएका थिए । मन्त्री बास्कोटासँग लिएको अन्तर्वार्तापछि आफ्नो कार्यक्रम बन्द गर्ने आदेश आएको प्रस्तोता थापाले जनाएका छन् ।

‘सिधा प्रश्न’मा सम्पति विवरणका बारेमा प्रश्न उत्तर हुने क्रममा मन्त्री बास्कोटा कार्यक्रम प्रस्तोता थापासँग रिसाएका थिए । सम्पति विवरणमा दाइजो सम्वन्धि प्रसंगमा अझ रिसाएका मन्त्री बास्कोटाले आफ्नो झुट समात्ने प्रस्तोता थापालाई टेलिभिजनबाटै हटाउन निर्देशन दिएपछि नेपाल टेलिभिजनका समाचार प्रमुखले थापालाई अब आइन्दा कार्यक्रम प्रसारण नुहने जानकारी दिएको युनियनद्वारा विज्ञप्तिमा उल्लेख छ ।

‘कार्यक्रम ‘सिधा प्रश्न’ रोकिएको यो घटनाले नेपालमा कम्युनिष्ट पार्टी नेतृत्वको शासन शुरु भए यता नेपालमा प्रश्न गर्ने अधिकार कुण्ठित हुँदै गएको प्रष्ट संकेत गरेको छ’, युनियनका महासचिव अजयबाबु सिवाकोटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पूर्वपत्रकार समेत रहेका मन्त्री वास्कोटाको यो कृत्य सरकार, सत्ता र यसका कार्यकारीहरुमाथि प्रश्न उठाउने हैन भन्ने निरंकुश मनसायबाट प्रेरित भएर आएको छ । हामीमाथि प्रश्न उठाउनेहरु सरकारी कोपभाजनमा पर्न तयार हौ भन्ने सन्देश दिने किसिमको निरंकुश शैली मन्त्री वास्कोटाबाट प्रकट भएको छ ।’

लोकतन्त्रमा हरेक नागरिकले जिम्मेवार निकायमा रहेकाहरुलाई प्रश्न सोध्ने हैसियत र तागत राख्छ भन्ने न्यूनतम ज्ञान समेत नरहेका बास्कोटाले प्रश्न नै गर्ने कर्म भएका एक जना पत्रकारलाई उनले सञ्चालन गर्दै आएको कार्यक्रम बन्द गर्न आदेश दिनुले मन्त्री बास्कोटासहित केपी ओली नेतृत्वको सरकारको नियत पनि उदाङगिएको सिवाकोटीले जनाएका छन् ।

‘प्रश्न गर्ने जनताको प्रतिनिधीपात्रको रुपमा रहेका थापाले सञ्चालन गर्ने कार्यक्रम बन्द गराएर मन्त्री बास्कोटा र केपी ओली नेतृत्वको सरकारले अधिनायकवादी चरित्र देखाएको छ’, युनियनले भनेको छ, ‘यो घटनाले सरकार अधिनायकवादको यात्रातर्फ उद्दत भएको प्रष्ट भएको छ ।’

केही दिनअघि सरकारको नेतृत्व गरेको नेकपाकै सांसद नवीना लामाले हाम्राकुरा डटकमको कार्यालयमा गुण्डाहरू पठाएर समाचार मेटाउन धम्की दिएको घटनापछि नेकपाकै नेता तथा मन्त्री बास्कोटाले सञ्चारकर्मीको कार्यक्रम वन्द गर्न गरेको ठाडो हस्तक्षेपले नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कमजोर अवस्थामा पुगेको पुष्टि गरेको युनियनको भनाइ छ ।

‘आवरणमा लोकतन्त्र भएपनि सरकार निरंकुशतातर्फ अघी बढेको यि घटनाहरूले पुष्टि गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘आमसञ्चारकर्मीको अधिकार रक्षाका लागि समेत क्रियाशील हुनुपर्ने मन्त्री आफै सञ्चारकर्मीको कार्यक्रम बन्द गर्न निर्देशन दिँदै हिड्नुले ‘जो अगुवा उही बाटो…’ जस्तो भएको छ ।’

मन्त्री बास्कोटाले कार्यक्रम बन्द गर्न नेपाल टेलिभिजनलाई दिएको निर्देशनको घोर भत्सर्ना गर्दै तत्काल प्रस्तोता थापाको कार्यक्रम ‘सिधा प्रश्न’ सुचारु गर्न माग गर्दै आम सञ्चारकर्मीलाई स्वतन्त्र र भयरहित वातावरणमा सञ्चारकर्म गर्न पाउने वातावरण मिलाउन नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा मन्त्रालय र सरोकारवाला निकायसँग प्रेस युनियनले जोडदार माग गरेको छ ।

Published : Wednesday, 2018 June 13, 7:33 pm

2 प्रतिकृया प्राप्त “देउवाले भन्दै आएको अधिनायकवाद मन्त्रीद्वारा पुष्टि, नाङ्गियो कम्युनिस्ट सरकार”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया