‘दानापानी’ रोकिने भएपछि गृहमन्त्रीलाई प्रचण्डको धम्की

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले कामचोर ठग ठेकेदारहरूलाई कारबाही गर्नेभन्दै सूची तयार पारेर कारबाही थालेपछि धेरै शीर्ष नेताहरू तर्सिएका छन् ।

त्यति मात्रै होइन गृहमन्त्री थापालाई नेताहरूले ठग ठेकेदारहरूलाई कारबाही नगर्न दवाव दिन थालेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री थापालाई आफ्नै निवास खुमलटारमा बोलाएर ठेकेदार शारदा अधिकारीलाई किन कारबाहीको सूचीमा राखेको भन्दै हप्काएका हुन् ।

स्रोतले भन्यो, ‘प्रचण्डज्यूले गृहमन्त्रीलाई बोलाएर सिंघम बन्न लागेको भन्दै ठेकेदार शारदा अधिकारीलाई कुनै पनि प्रकारको दवाव वा कारबाही नगर्न निर्देशन दिनुभएको छ ।’

गृहमन्त्री थापाले काठमाडौंको कलंकी–नागढुंगा सडकसहितका आयोजनाहरू ओगटेर काममा ढिलाइ गरिरहेका शैलुङ कन्ट्रक्सनका मालिक एवम् ठेकेदार अधिकारीलाई कारबाही गर्ने तयारी गरेपछि ‘प्रचण्ड’ले आक्रोशित भएका हुन् ।

गृहमन्त्री थापाले कामचोर ठग ठेकेदारहरूलाई सूची तयार पारेर पक्राउ गर्नुका साथै कारबाही थालेपछि जनसमर्थन बढेको थियो । तर, राजनीतिक संरक्षणमा रहेका ठेकेदारहरूले गृहमन्त्री थापाको कार्यशैलीलाई रुचाएका छैनन् ।

अध्यक्ष प्रचण्डले ठेकेदार अधिकारीलाई कारबाही नगर्न गृहमन्त्री थापालाई निर्देशन दिएको उच्च स्रोतले जनाएको छ ।

‘तपाई पहिला रक्षामन्त्री हुँदा प्रधासेनापतिलाई नचलाउनुस् भन्दा मान्नुभएन । अन्टसन्ट काम गर्नुभयो । अहिलेफेरि शारदा अधिकारीलाई चलाउन थाल्नु भएको छ’, अध्यक्ष प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘सिंघम बन्ने तयारीमा हुनुहुन्छ है ? अफ्ठेरो पर्ला है !’

अध्यक्ष दाहाल उनै ठेकेदार अधिकारीले उपलब्ध गराएको घरमा बस्दै आएका छन् । दाहाल बस्ने खुमलटार, ललितपुरको घर उनै ठेकेदार अधिकारीले दिएका हुन् ।

त्यति मात्रै होइन ललितपुर मानभवनमा रहेको ठेकेदार अधिकारीको घरमा तत्कालीन एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठक बस्ने गरेको थियो ।

Published : Friday, 2018 June 8, 12:07 pm

1 प्रतिकृया प्राप्त “‘दानापानी’ रोकिने भएपछि गृहमन्त्रीलाई प्रचण्डको धम्की”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया