मुद्दा छाडेका छैनौँ जति बेला पनि सरकार छाड्न सकिन्छः यादव

काठमाडौं । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मोहम्मद ईस्तियाक राईलाई संघीय समाजवादी फोरमले शुभकामना तथा बधाई ज्ञापन गरेको छ ।

पार्टी मुख्यालय ललितपुरको बालकुमारीमा मंगलबार आयोजित कार्यक्रममा उपप्रधानमन्त्री यादव र मन्त्री राईलाई स्वागत गरिएको हो ।

फोरम नेपालका वरिष्ठ नेता अशोक राईले देश र जनताका हितमा काम गर्न पार्टी सरकारमा सहभागि भएको जनाउँदै व्यक्तिगत र स्वार्थप्रेरित काम लिएर मन्त्रीहरूलाई अनावश्यक झमेलामा नपार्न कार्यकर्तालाई निर्देशन दिए ।

वरिष्ठ नेता राईले भने, ‘हामी देश र जनताको काम गर्न सरकारमा गएका हौं । अनावश्यक कामहरू लिएर कोही पनि मन्त्रालयमा नजाओस् । ताकि भोलि कसैले आफ्नो व्यक्तिगत काम भएन भनेर गुनासो गर्नुपर्ने नहोस् ।’

राईले सरकारमा सहभागी हुने मन्त्री चयन पार्टीका सबैको सहमतिमै भएको दाबी गरे । वरिष्ठ नेता राईले विरोधी तत्वहरूले अनावश्यकरुपमा विवाद गराउन मनगढन्ते रुपमा हल्ला चलाएको पनि बताए । पार्टीका कुनै पनि नेताहरूबीच सरकारमा सहभागी हुने विषयमा मनमुटाव नरहेको बरु झनै एकता सुदृढ भएको पनि राईको दाबी थियो ।

फोरम नेपालका अध्यक्ष एवम् उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले सरकारमा जाँदैमा संघर्षको मैदान छाडेको भन्ने नठहर्ने प्रष्ट्याए ।

उपप्रधानमन्त्री यादवले भने, ‘सरकारमा जाँदैमा संघर्ष छाड्यो भन्नु विल्कुलै गलत हो । हामी झनै प्रभावकारीरुपले आफ्ना मुद्दाहरू राख्न सरकारमा सहभागी भएका हौं । अब संविधान संशोधनका विषय हामी बुँदागतरुपमा प्रस्तुत गरेर पारित गराउनेतर्फ केन्द्रित हुने छौं ।’

उपप्रधानमन्त्री यादवले प्रष्ट बहुमत भएको सरकारले फोरमको आवश्यकताबोध गरेर सरकारमा सहभागी गराउनु पनि उपलब्धि भएको तर्क गर्दै यादवले आफूहरूले उठाएका मुद्दाको सम्बोधन नहुने अवस्था आए कुनै पनि बेला सरकारबाट बाहिरिन सक्ने पनि बताए ।

उनले आफू अहिले स्वास्थ्य क्षेत्रमा रहेका चुनौती बुझ्ने क्रममा रहेको र चाँडै नै कसरी सर्वसुलभ स्वास्थ्य सेवामा सबैको पहुँच विस्तार गर्न सकिन्छ भन्ने नीति अख्तियार गरी कार्यान्वयनका लागि केन्द्रित रहेको बताए ।

सहरी विकासमन्त्री राईले नयाँ र व्यवस्थित सहर निर्माणसम्बन्धी अवधारणाहरू साकार पार्ने अठोट गरे । उनले तराई र पहाडी क्षेत्रका सबै सहरहरूको विकासका लागि आफ्नो कार्यकालमा उदाहरणीय कार्य गर्ने प्रतिबद्धता पनि जनाए ।

Published : Tuesday, 2018 June 5, 8:25 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया