अनुदार कम्युनिस्ट सरकारप्रति उदार बन्यो कांग्रेस, गर्‍यो प्रशंसनीय निर्णय

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले झिनामसिना वितरणमुखी कार्यक्रमभन्दा दीर्घकालीन महत्वका कार्यक्रमलाई ध्यानमा राखेर आगामी नयाँ बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सोमबार बसेको कांग्रेसका पदाधिकारी र सांसदहरूको बैठकले मुलुकको मुहार फेर्ने गरेर बजेट ल्याउन सरकारलाई सुझाव दिएको हो । कांग्रेसले आफ्नो पालामा सुरु गरिएको कार्यक्रमहरूलाई कटौती नगर्न पनि सरकारसँग आग्रह गरेको छ ।

कांग्रेसका एकजना सांसदले भने, ‘कांग्रेसले आफ्नो सरकारका पालामा सुरु गरेका राम्रा कार्यक्रमलाई वर्तमान सरकारले कटौती नगरोस् भन्ने चाहन्छ । यदि त्यस्तो भयो भने सरकारले संसदमा अफ्ठ्यारो अवस्था आउन सक्छ ।’ ती सांसदका अनुसार दुईतिहाई समर्थन प्राप्त वर्तमान सरकारलाई विपक्षी दलको पनि कुरा सुन्न आग्रह गरिएको छ ।

‘सरकारले विपक्षी दलको कुरा सुन्न चाहेको जस्तो देखिएको छैन’, कांग्रेसका ती सांसदले भने, ‘दुईतिहाई बहुमत छ भन्दैमा विपक्षीहरूको कुरा नमान्नु भनेको निरंकुशताको संकेत गर्छ ।’

सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेट ल्याउनु एकदिन अगाडि नेपाली कांग्रेसले कम्युनिस्ट सरकारको बजेटका बारेमा अनौपचारिक परामर्श गरेको छ ।

कांग्रेसले वर्तमान सरकारले राम्रो काम गरोस् भनेरै आइतबार संसदमा नीति तथा कार्यक्रममा तटस्थ बसेको जनाएको छ ।

‘वर्तमान सरकारलाई प्रमुख विपक्षी दल नेपाली कांग्रेसले काम गर्न असहयोग गर्‍यो भनेर आक्षेप नलागोस् भनेर सरकारलाई सहयोग गर्न नीति तथा कार्यक्रमका विषयमा तटस्थ बसेका हौँ’, कांग्रेसका सांसदले भने, ‘नीति तथा कार्यक्रममा कांग्रेसले सहयोग गर्‍यो बजेटमा पनि सहयोग गर्छ भनेर जस्तो मन लाग्यो त्यस्तो कार्यक्रम आयो भने चुप लागेर बस्ने छैनौँ ।’

कांग्रेसका एक सांसदले भने, ‘कांग्रेस लोकतान्त्रिक पार्टी हो । आफ्नो भूमिका निभाउन जानेको छ । अनुदार कम्युनिस्ट सरकारलाई उदार मनले सहयोग गर्छ । गलत काम हुन थाल्यो भने खबरदारी पनि गर्न जानेको छ ।’

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शकांक कोइराला, मुख्य सचेतक बालकृष्ण खाँडा, सांसद डा.मीनेन्द्र रिजाल, मीन विश्वकर्मा, राधेश्याम अधिकारीसहितका दर्जन बढी नेताहरूको सहभागिता रहेको थियो ।

Published : Monday, 2018 May 28, 6:58 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया