धुन्धुकारी एसपी माझी र इनिस्पेक्टर दाहाललाई कारबाही

काठमाडौं । नेपाल प्रहरीका उच्च अधिकारीहरू विभिन्न अपराध, तस्करी लगायतका घटनामा परेर बद्नाम भइरहेका बेला फेरि दुई जना उच्च अधिकारीहरू कारबाहीमा परेका छन् ।

प्रहरी प्रधान कार्यालयले बलात्कार घटनालाई ढाकछोप गर्ने प्रहरी अधिकारीलाई विभागीय कारबाही गरेको हो । गत पुस १६ गते सुनसरीको इटहरी–२ हलगढास्थित रोयल रिसोर्टमा १४ वर्षीया किशोरीलाई बलात्कार भएको घटना ढाकछोप गर्न खोजेको भन्दै प्रहरी प्रधान कार्यालयले तत्कालीन सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विद्यानन्द माझी र प्रहरी निरीक्षक चिरञ्जीवी दाहाललाई कारबाही गरेको हो ।

घटना छानबिन गर्न बनेको समितिको प्रतिवेदनका आधारमा प्रधान कार्यालयले एसपी माझी र ईन्सपेक्टर दाहाललाई विभागीय कारबाही गरेको छ ।

प्रहरी प्रवक्ता एसएसपी शैलेस थापाले एसपी माझीलाई रेकर्डमा जनिने गरी कारबाही गरेको जानकारी दिए । एसपी माझीको एक वर्षको ग्रेड रोक्का गरिएको छ । प्रहरी निरीक्षक दाहालको खाइपाई आएको तलब सुविधामा एक स्केल घटाइएको छ ।

माघ पहिलो साता काठमाडौंको दरबारमार्गस्थित ल्याडमार्क होटलमा एक युवतीलाई सामूहिक बलात्कार गर्ने आरोपी भगाएको आरोप लागेका प्रहरीमाथि पनि प्रधान कार्यालयले छानबिन थालेको छ ।

प्रहरी वृत्त दरबारमार्गका तत्कालीन प्रहरी निरीक्षक लक्ष्मण ठकुरी र सई चन्द्र भण्डारीले घटनाका आरोपी भगाएको भन्दै निलम्बनमा परेका थिए ।

घटनाका आरोपीसहित उनीहरूलाई प्रतीपक्ष बनाएर काठमाडौं प्रहरीले मुद्दा दायर गर्न जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा फाइल पठाएको थियो । कार्यालयले घटनाका अन्य आरोपीलाई मुद्दा दायर गरेको र दुई प्रहरीलाई विभागीय कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

Published : Thursday, 2018 May 24, 2:42 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया