१० वर्षे लक्ष्यसहित आयो कम्युनिस्ट सरकारको नीति तथा कार्यक्रम

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नेपाललाई १० वर्षभित्र मध्यमस्तरको आयसहित विकासशील राष्ट्र बनाउने उल्लेख गरिएको छ ।

आगामी आर्थिक वर्षमा आर्थिक सुधारको प्रयास गरिने, ५ वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गरिने र १० वर्षभित्र मध्यस्तरको विकास प्राप्तीको लक्ष्य नीति तथा कार्यक्रममा राखिएको छ। साथै आय असमानता पनि कम गरिने उल्लेख छ ।

समृद्ध नेपाल र सुखी नेपालको अवधारणालाई एक दशकभित्र पूरा गरिने पनि भनिएको छ । नीति तथा कार्यक्रम समद्धिको इतिहासको आधार वर्ष भएको भन्दै सरकारले विकासनीति, कार्यनीतिमा आमुल परिवर्तन गरिने जनाएको छ ।

‘अबको हाम्रो विकास, सूचना र अनुसन्धानमा आधारित हुनेछन्। राष्ट्रिय तथ्यगत विवरण तयार गरिनेछ’, नीति तथा कार्यक्रममा भनिएको छ, ‘सुरक्षा, परराष्ट्र सम्बन्धका विषयमा अध्ययनका लागि विज्ञहरुको थिंक ट्यांक बनाइनेछ ।’

नेपालको अर्थतन्त्रलाई उच्च आर्थिक वृद्धिदरसहित सबल बनाइने र त्यसका लागि अर्थतन्त्रको संरचनामै परिमार्जन गरिने योजना पनि सरकारको रहेको छ ।

कृषि, उर्जा, उद्योग, पर्यटन सहरी उर्जालाई प्रोत्साहन गरेको नीति तथा कार्यक्रममा भनिएको छ, ‘वित्तीय अनुसशासनमा कडाई गरिनेछ, सरकारी कोष दुरुपयोगमा अंकुश लगाइनेछ । आन्तरिक स्रोत परिचालनमा बढावा, पूँजी बजारको विस्तार, आन्तरिक बजारलाई गतिशीलता र सम्पत्ति शुद्धीकरणमा कठोर कदम चालिनेछ ।’

५ वर्षमा कृषिमा आश्रित जनशक्ति उत्पादन, कृषि उत्पादन बढाउन आधुनिकीकरण र प्राविधिकीकरण गरिने पनि सरकारको नीति रहेको छ । ‘कृषियोग्य भूमिको खण्डिकर र अतिग्रहण रोकिनेछ, उत्पादन विविधिकरण गरिनेछ’, कार्यक्रममा भनिएको छ ।

‘कृषि उत्पादनलाई चाहिने मल बीउ पशु सेवा केन्द्रमार्फत उपलब्ध, कृषि ज्ञान केन्द्र स्थापना गरिनेछ, उत्पादन, विक्री वितरण मूल्य नियन्त्रण गरिनेछ । वन व्यवस्थापनलाई बैज्ञानिक बनाइनेछ’, सरकारको नीति तथा कार्यान्वयनमा भनिएको छ ।

Published : Monday, 2018 May 21, 7:11 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया