कम्युनिस्ट सरकारले अपराधीलाई छाड्ने

काठमाडौं । दुई ठूला कयुनिस्ट पार्टी एकीकरण भए लगत्तै ज्यानमुद्दाका साथै विभिन्न अपराधमा सजाय पाइरहेका नेता तथा अपराधीहरूलाई छाड्न केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारले तयारी सुरु गरेको खुलासा भएको छ ।

पहिलो चरणमा ओली सरकारले कर्तव्य ज्यान मुद्दामा जेल परेका माओवादी नेता बालकृष्ण ढुंगेललाई कैद मिनाह गर्ने तयारी भएको छ । ढुंगलेललाई गणतन्त्र दिवसको दिन पारेर छाडिनेछ । सरकारले बाँकी कैद सजाय मिनाह हुने गरी उनलाई छाड्न लागेको स्रोतले जनाएको छ ।

नेता ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा जेल चलान गरिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनलाई गत कात्तिक १४ गते ललितपुरबाट पक्राउ गरेको थियो ।

डिल्लीबजार कारागारमा रहेका ढुंगेललाई सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । कारागार नियमावलीकै प्रावधान अनुसार ढुंगेल छुट्न लागेका छन् । अपराधी ढुंगेललाई गणतन्त्र दिवसका दिन जेठ १५ गते छाड्न लागिएको एक मन्त्रीले बताए ।

गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले कैद छुटको निर्णय गर्नेछ । गृहमन्त्री अहिले तत्कालीन माओवादीका नेता रामबहादुर थापा छन् ।

२०६१ मा जिल्ला अदालत ओखलढुंगाले उज्जन श्रेष्ठको हत्यामा ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो ।

सो फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्टाइदिएको थियो । पछि सर्वोच्च अदालतले २०६६ सालमा जिल्ला अदालतको फैसला सदर गरेको थियो । फैसलाको करिब ८ वर्षसम्म पनि फैसला कार्यान्वयन भएको थिएन ।

गत कात्तिक ७ गते सर्वोच्च अदालतले एक साताभित्र ढुंगेललाई पक्राउ गर्न नेपाल प्रहरीका तत्कालीन आइजिपी प्रकाश अर्याललाई आदेश दिएपछि उनी पक्राउ परेका हुन् ।

Published : Sunday, 2018 May 20, 8:25 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया