पार्टी एकताका शुत्रधार शर्मालाई पहिलो दिनमै झट्का

काठमाडौं । पार्टी एकीकरणमा ठूलो भूमिका खेलेका माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई सुरुवाती चरणमै ठूलो झट्का लागेको छ ।

एमाले–माओवादी केन्द्रको एकतापछि बनेको ‘नेकपा कम्युनिष्ट पार्टी’को ९ सदस्यीय हाइकमाण्डमा शर्मा छुटेका छन् ।

पार्टी एकीकरणमा खटपट भएका बेला केपी ओलीको निर्देशनमा विष्णु पौडेलसँग मिलेर पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी एकीकरण गराउन शर्माले नै भूमिका खेलेका थिए ।

प्रचण्डभन्दा पनि ओलीको विश्वासपात्रका रुपमा हेरिएका शर्मालाई हाइकमाण्डमा नराखेर कारबाही गरेको भनेर बालुवाटारमा टिप्पणी भएको छ । यो निर्णयले शर्मालाई झट्का लागेको छ ।

हाइकमाण्डको प्रवक्ताको जिम्मेवारी माओवादीका नारायणकाजी श्रेष्ठले पाएका छन् । एमालेका विष्णु पौडेललाई महासचिवको जिम्मेवारी दिइएको छ । पौडेलले संगठनको काम गर्नेछन् । शर्माले पौडेलसँग मिलेर पार्टी एकीकरणमा ठूलो भूमिका खेलेका थिए ।

पौडेल हाइकमाण्डको जिम्मेवारीसहित पुरस्कृत भए । तर, शर्मालाई हाइकमाण्डमा राखिएन । हाइकमाण्डमा नपरेपछि शर्माले मन अमिलो बनाएका छन् ।

हाइकमाण्डमा ओली र प्रचण्डका साथै माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल रहनेछन् ।

Published : Thursday, 2018 May 17, 5:32 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया