प्रधानमन्त्रीको सातो लियो कांग्रेसले, ओली सुपर लम्पसारवादी

काठमाडौं । भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका सवालहरूमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस झनै आक्रमक भएर प्रस्तुत भएको छ ।

सोमबार संसदको बैठकमा कांग्रेसका सांसदहरू डा.अमरेश कुमार सिंह, गगन थापा, डा.मीनेन्द्र रिजाल र भीमसेन दास प्रधानलगायतले सरकारको आलोचना गरे ।

सिंहले मोदीको नेपाल भ्रमणमा राष्ट्रियता र स्वाभिमान विपरितका काम भएको आरोप लगाउँदै नेपालको संस्थालाई कमजोर पार्ने काम भएको बताए । परराष्ट्र मन्त्रालयलाई उपेक्षा गर्दै प्रधानमन्त्रीले एक्लाएक्लै भेटेकोमा सिंहले आपत्ति जनाए । परराष्ट्र मन्त्रालयका प्रतिनिधि नराखिनु आपत्तिको विषय भएको बताए ।

प्रधानमन्त्री ओलीले आफ्नै क्याबिनेटका मन्त्रीहरूलाई विश्वास नगरेकोसमेत आरोप लगाए । मोदीको भ्रमणअघि प्रधानमन्त्रीले ओलीले थाइल्याण्डमा कस्लाई भेटेको भन्दै उनले प्रश्न गरे ।

यसै गरी पूर्व रक्षामन्त्री एवं कांग्रेसकै सांसद भीमसेनदास प्रधानले दलबल सहित भारतीय सुरक्षाकर्मीलाई नेपालमा निमन्त्रणा गर्दा नेपाली सुरक्षाकर्मीको मनोबल गिरेको आरोप लगाए ।

नेपाली सेना शान्ति सेनामा छैटौँ स्थानमा रहेपनि भारतीय सेनालाई बोलाएर नेपाली सेनाको अपमान भएको दाबी उनले गरे ।

भारतीय जनता पार्टीका नेता कीर्ति आजादले जनकपुरको विषयमा दिएको अभिव्यक्तिले नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप भएकोले माफी माग्न लगाउनु पर्ने धारणा प्रधानले राखे ।

कांग्रेसका अर्का सांसद गगन थापा पनि सरकारभन्दा प्रधानन्त्री केपी ओलीप्रति आक्रमक भए । ‘हिजो अरुलाई लम्पसारवादी भन्ने केपी ओलीलाई आज सुपर लम्पसारवादी भन्न पाइने कि नपाउने’, उनले प्रश्न गरे ।

थापाले राजा महेन्द्रको शैलीमा ओलीले समर्पण गरेको दाबी गर्दै उनले भने, ‘भारतको सेना नेपाल आएर कतै त्यही कालापानी दोहोराउन खोजिएको त होइन ?’

‘हिजो भारतसँग कुराकानी गर्नुपर्छ भन्दै गर्दा सत्तामा बस्नेहरुले घुँडा टेक्दा घुँडामा घाउ भयो भन्नुभएको थियो’, थापाले भने, ‘नाकाबन्दी लगाउँदैन भन्दै हिजो भारतको जिम्मा लिएर रोष्ट्रममा उभिएका प्रधानमन्त्रीलाई मैले तपाईँको घुँडामा भ्वाङ परो कि परेन सोध्न पाउने कि नपाउने ? आफूले गर्दा पुण्य, अरुले गर्दा पाप ?’

सोही पार्टीका सांसद डा। मीनेन्द्र रिजालले नेपाली जनताले नाकाबन्दीको पीडालाई बिर्सेर भारतीय प्रधानमन्त्रीको स्वागत गरेको चर्चा गर्दै सरकारमा सहभागी दलले विगतका अभिव्यक्तिलाई अहिले नै बिर्सेकामा चिन्ता व्यक्त गरे ।

प्रदेश २ का मुख्यमन्त्रीले बोलेको कुरामा भएको विरोधका विषयमा उनले प्रदेश २ को सरकार एमालेकै समर्थनमा बनेको कुरा स्मरण गराउँदै अहिले समर्थनको अवस्था के छ भन्ने प्रश्न गरे ।

यसैगरी प्रमुख सत्ता साझेदार नेकपा एमालेका सांसद भीम रावलले नेपालको संविधान विश्वमा नै गर्व गर्न लायक रहेको बताए । संविधानको मर्म विपरीत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका क्रममा प्रदेश नं २ का मुख्य मन्त्रीको अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत रहेकोले सच्याउन माग गरे ।

Published : Monday, 2018 May 14, 8:04 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया