बल्ल खाइस् माओवादी आफ्नै ढंगले

काठमाडौं । प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अरुण तेस्रो आयोजनामा सत्तासाझेदार दल माओवादी केन्द्रलाई बेवास्ता गरेर शिलान्यास गरेका छन् ।

काठमाडौंका बत्तीसपुतलीस्थित होटेल द्वारिकाजमा शुक्रबार सँझ ओली र मोदीले विभागीय मन्त्री वर्षमान पुनलाई बेवास्ता गर्दै शिलान्यास भएको हो । इलेक्ट्रिक स्वीच थिचेर ९०० मेगावाटको अरुण तेस्रो आयोजना शिलान्यास भएपछि माओवादी केन्द्र झस्किएको छ । अरुण तेस्रो शिलान्यास हुनेवित्तिकै ओली र मोदीले अंकमाल गरेर खुसी साटेका थिए ।

ओली र मोदीले अरुण तेस्रो नेपालको विकास र समृद्धिमा कोशेढुंगा सावित हुने दाबी गरेका छन् । कार्यक्रममा विभागीयमन्त्री पुन उपस्थित थिएनन् । शिलान्यास कार्यक्रममा उर्जा सचिव अनुपकुमार उपाध्याय, जलस्रोत सचिव सञ्जय शर्मासहित नेपाल र भारतका उर्जा अधिकारी, सुरक्षाकर्मी एवं दुवै देशका सञ्चारकर्मीको मात्रै वाक्लो उपस्थिति थियो ।

नेपालका तर्फबाट दुई पक्षीय वार्तामा बसेका उर्जा मन्त्रालयका २१ अधिकारी र भारतको तर्फबाट सहभागी ११ जना अधिकारी देखिएका थिए ।

होटल द्वारिकाजमै भएको दुईपक्षीय बैठकमा उर्जामन्त्री पुन नबोलाइएको उच्च स्रोतले जनाएको छ । यो घटनाले मन्त्री पुन तनावमा परेका छन् । उनले प्रधानमन्त्री ओलीबाट भएको व्यवहारको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग तत्काल गुनासो गरेका थिए ।

माओवादीका एक नेताले भने, ‘यति ठूलो आयोजनाको शिलान्यास गर्दा प्रधानमन्त्री ओलीज्यूले माओवादी र विभागीय मन्त्रीलाई बेवास्ता गरेर काम गरिएको छ । यसले ठूलो अविश्वास उत्पन्न गरेको छ । हुन त एमालेसँग मिल्नुको परिणाम अब भोग्नु परेको छ । नेपालमा उखान छ बल्ल खाइस मंगल आफ्नै ढंगले । हो त्यही भयो माओवादीलाई ।’

अरुण तेस्रोको शिलान्यासमा विभागीय मन्त्रीलाई निम्ता नगरिनुका पछाडि मन्त्रालय–लगानी बोर्डबीचको विवाद प्रमुख कारण देखिएको छ ।

बोर्डले भारत सरकार लगानीको कम्पनी सतलजलाई मोदी आउनु एक साता अगाडि वैशाख २० गते विहीवार ९०० मेगावाटको अरुण तेस्रो आयोजनाको उत्पादन अनुमति प्रदान गरेको थियो ।

Published : Saturday, 2018 May 12, 10:20 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया