काठमाडौंमा कहाँ–कहाँ छन् ‘रअ’का एजेन्ट ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते नेपाल भ्रमणका लागि आउने भएपछि भारतीय खुफिया एजेन्सी ‘रअ’का साथै स्पेशल कमाण्डो फोर्सका उच्च अधिकारीहरू काठमाडौं र जनकपुरमा फैलिएका छन् । स्रोतका अनुसार ‘रअ’का उच्च अधिकारीहरूले जनकपुर र काठमाडौंमा बसेर सूचना संकलन गरिरहेका छन् ।

नेपालका लागि भारतीय राजदूतावास लैनचौरबाट कार्यसम्पादन गर्न समस्या पर्ने भएपछि याक एण्ड यति होटेलबाट ‘रअ’ले आफ्ना गतिविधि चलाई रहेको स्रोतको भनाइ छ ।

‘रअ’का साथै भारतीय स्पेसल कमाण्डो फोर्सका सुरक्षाकर्मीहरू जनकपुरको बाह्रविघा, जानकी मन्दिर आसपास, भानुचोक र काठमाडौंका सुन्धारा, गौशला, तीनकुने, ताहाचल, सिनामंगल, नेपाल–भारत सिमाना लगायतका स्थानमा उच्च सतर्कताका साथ निगरानी गरिरहेको स्रोतले जनाएको छ ।

भारतीय प्रधानमन्त्री मोदीको सुरक्षाका लागि नेपाल सरकार अत्यन्तै संवेदनशील रहेको गृहमन्त्री रामबहादुर थापाले जनाई सकेका छन् । जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मोदीको सुरक्षामा कुनै पनि कमजोरी नहुने उनले बताएका छन् ।

तर, गृहमन्त्री थापालाई अरुको भन्दा पनि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को डर छ । नेकपाले कालो झण्डा देखाउने हो कि भनेर गृहमन्त्री थापाले चिन्ता लिने गरेको स्रोतको भनाइ छ ।

मोदी आफ्नो सुरक्षाका लागि भारतबाटै गाडी लिएर आउने छन् । उनले आफू आउनुभन्दा अगाडि भारतबाट गाडी नेपाल पठाउने छन् । मोदी चढ्ने गाडीलाई विमानबाट नेपाल ल्याइनेछ ।

Published : Thursday, 2018 May 3, 11:25 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया