काठमाडौंमै पक्राउ परे ‘विप्लव’का टप नेता, जनसरकार प्रमुखद्वारा पार्टी परित्याग

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सहायक संगठन योङ रेड फोर्सका केन्द्रीय अध्यक्ष पक्राउ गरेका छन् ।

विवस राई भनिने बाबुराम किरातीलाई प्रहरीले काठमाडौंमा बिहीबार पक्राउ गरेको हो । विभिन्न हिंसात्मक गतिविधिमा संलग्न रहेको अभियोगमा अध्यक्ष राईलाई पक्राउ गरिएको उच्च सुरक्षा स्रोतले जनाएको छ । योङ रेड फोर्स नेपालका महासचिव पाटन जंगलीले विज्ञप्ति जारी गरेर पक्राउ परेका अध्यक्ष राईलाई रिहाइको माग गरेका छन् ।

त्यसैगरी प्रहरीले नेकपाको केन्द्रीय सदस्य एवम् काठमाडौं जिल्ला सेक्रेटरी धिरिन्द्रा उपाध्याय, काठमाडौं जिल्ला कार्यालयका सचिव ‘सफल’ र ललितपुर जिल्लाका सेक्रेटरी विपिन क्षेत्रीलाई पक्राउ गरेको छ ।

यसैबीच, नेकपाको भक्तपुर जिल्ला जनसरकार प्रमुख कृष्णराम खड्काले पार्टी परित्याग गरेका छन् । खड्काले बिहीबार विज्ञप्ति जारी गरेर विप्लव नेतृत्वको नेकपाका सबै जिम्मेवारीबाट बाहिरिएको जनाएका हुन् ।

भक्तपुर जिल्लाको चागुनारायण नगरपालिका निवासी खड्का नेकपा परित्यागसँगै नेकपा (माओवादी केन्द्र)मा प्रवेशको तयारी गरेको स्रोतले जनाएको छ ।

Published : Thursday, 2018 April 26, 8:16 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया